आज देशैभर मगर एकता दिवस मनाइँदै

देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताउनुभयो ।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “ विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सङ्घको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

“आज यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ”, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker