सडकको ट्रयाक खोलिएको २९ बर्षपछि तीन सय मिटर कालोपत्र
राजकुमार आले/दुलेगौंडा
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित टुँडा-शान्तिनगर मोटरमार्ग कालोपत्र गरिएको छ । वि.सं. २०४९ साल जेठ ०२ गते खैरेनीटारबजार हुँदै शान्तिनगर स्याउलीबजारमा जोडिएको उक्त सडक खण्डको ट्रयाक खोलिएको २९ वर्षछि तीन सय मिटर कालोपत्र गरिएको हो ।
तत्कालिन जिल्ला विकास समितिका अध्यक्ष रामचन्द्र पोख्रेलसंग आवश्यक छलफल र समन्वयमा मोटरमार्गको ट्रयाक खोलिएको स्थानीय हर्कबहादुर गुरुङ बताउँछन् । वि.सं ०५२ सालदेखि यस मार्गहुदै भिमाद खैरेनीटार आउनेजाने सवारी साधान सञ्चालन हुँदै आएका थिए । तर, २०५५ सालमा स्थानीयहरुबीच बाटोको विषयमा विवाद भएपछि बाटो अवरुद्ध भएको थियो । उक्त मार्गलाई स्तरोन्नति गरी खैरेनीटार-भिमाद सडक सञ्चालन गर्दा स्थानीयबासीहरुको घरजग्गा बाटोले खानेभएपछि बैकल्पिक बाटोको रुपमा अहिलेको मिलडाँडा हुँदै भोटेपानीतर्फको ट्रयाक खोलिएको थियो। त्यसयता, पछाडि परेको मोटरमार्ग बल्ल कालोपत्रे गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाको १७ लाख ५० हजार रुपैयाँ, गण्डकी प्रदेश पूर्वाधार कार्यक्रमबाट ५ लाख र स्थानीयवासीको जनसहभागीताबाट १८ लाख १० हजार ३४७ रुपैयाँ गरी कुल ४० लाख ६० हजार ३४७ रुपैयाँको लागतमा कालोपत्रे गरिएको निर्माण समितिका अध्यक्ष शिव पौडेलले बताए । उनका अनुसार सडक ६ मिटर चौडाइसहित दोहोरो एक/एक मिटर चौडाइको पक्कीनाला निर्माण गरिएको छ । कालोपत्रे गरिएको सडक तीन सय मिटरको रहेको छ ।
कालोपत्रेपछि शहीद गीता मोटरमार्ग नामाकरण गरिएको सडकको विहिबार गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री आशा कोइरालाले उद्घाटन गर्दै सबैको एकताबाट नै विकास सम्भव हुने बताइन् । उनले राष्ट्र र जनताको हितमा काम गर्ने व्यक्तिलाई साथ दिनुपर्ने र गलत काम गर्न खोज्ने मन्त्री, साँसद, नेता, मेयर तथा वडाध्यक्ष जोसुकै भएपनि जनस्तरबाट खबरदारी हुनुपर्ने बताइन् ।
त्यस्तै, वडा नं. ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले विकासका निम्ति जनताको बलियो साथ हुनुपर्ने बताए । उनले सरकारको नीति अनुसार साझेदारी कार्यक्रम लागु गर्न झमेला भएपनि बनेको पूर्वाधारमा जनताको पनि अपनत्व महसुस गराउने गरी सरकारले ल्याएको नीति लागु गर्नैपर्ने बताए ।
कार्यक्रममा वडा सदस्य गिरबहादुर थापाले विकासका लागि एक हनुपर्ने बताउँदै यो र त्यो पार्टी भनेर राजनीति गर्न नहुने बताए । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्ति तिम्सिनाले जनता तातियो भने छिटो विकास हुने बताए । भोट हालेर मात्र विकास नहुने उनको तर्क थियो ।
नेपाली काँग्रेसका वडा सभापति इश्वर शर्माले टुडाँका जनता भोट बैँकको रुपमा मात्र प्रयोग हुँदै आएको बताए । उनले विभिन्न आशा देखाएर भोट तान्ने, विकास गर्ने बेलामा पनि मुख मात्र बजार्ने तर सिन्को नभाच्नेहरुबाट जनता सचेत हुनुपर्ने बताए ।
मोटरमार्ग निर्माण समितिका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका गोपी तिवारी, सिद्धबाबा टोलका अध्यक्ष हर्कबहादुर गुरुङ, टुडाँ टोलका अध्यक्ष गम्भिर सिं गुरुङ, निरु भुजेल लगायतले सरकारको मुख हेरेर बस्दा अहिलेको अवस्था आएको भन्दै आफ्नो टोलको विकासमा आफै मिलेर अगाडी बढ्नुपर्छ भन्ने पाठ सिक्नुपर्ने बताएका थिए । उनीहरुले प्राविधिकले स्पष्ट स्टिमेन्ट नगरिदिदा काम गर्न धेरै समस्या झेल्नु परेको गुनासो गरेका थिए ।










