ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण

तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास–१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो ।

करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो । व्यास –४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा आफूले प्रस्ताव गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य पालिकाले जग्गा र भवन दिन्छौँ भनेर प्रस्ताव गरिरहेका थिए, सदरमुकाममा भएको कार्यालय अन्यत्र लैजानु ठिक हुँदैनथ्यो । करङकाठमा प्रयोगविहीन भवनलाई ट्राफिक प्रहरीको कार्यालय बनाउन सकिन्छ भनेर नगरप्रमुखसमक्ष प्रस्ताव लगेको थिएँ ।”

भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ । ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ । सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त भवनको काम बीचमा छाडेर अलपत्र परेको रहेछ । हामीले नगरपालिकालाई अनुरोध गरेपछि नगरपालिकाले भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ । अहिले भवनको सरसफाइको काम भइरहेको छ । बाँकी सबै काम नगरपालिकाले नै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।”

हाल व्यास–४ स्थित व्यक्तिका घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । हाल सातवटा कोठा भाडामा लिइएको छ । पुरानो घर भएकाले साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपरेको प्रहरी नायब निरीक्षक पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ भवनमा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाहमा पनि सहजता हुन्छ ।”

ट्राफिक प्रहरी कार्यालय तनहुँमा १५ जनाको दरबन्दी रहेकामा ३७ कार्यरत छन् । कार्यालय मातहत जिल्लाभर १२ अस्थायी ट्राफिक प्रहरी पोष्ट छन् । पौडेलका अनुसार बेलचौतारा, आँबुखैरेनी, कोत्रे, भिमाद, थर्पु, कलेस्ती, बन्दीपुर, भन्सार, पुर्कोट, पुलजीप र देवघाटमा अस्थायी पोष्टबाट सेवा प्रवाह भइरहेको छ । कार्यालयले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतनालगायतका काम गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker