वर्षाका कारण तनहुँ यातायात कार्यालयको लिखित र ट्रायल परीक्षा स्थगित

डुम्रे : लगातार भइरहेको वर्षाका कारण यातायात व्यवस्था कार्यालय तनहुँ (डुम्रे)ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरेको छ ।
बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयले जल तथा मौसम विज्ञान विभागको वर्षासम्बन्धी पूर्वानुमान तथा डुम्रे क्षेत्रमा भइरहेको निरन्तर वर्षाबाट उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा तालिका संशोधन गरेको हो ।
कार्यालयका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको छ । वर्षाका कारण परीक्षा सञ्चालनमा समेत असर पर्नसक्ने भएकाले असोज ९ र १२ गतेका लागि तय गरिएका परीक्षा स्थगित गरिएको हो ।
संशोधित तालिकाअनुसार असोज ९ गतेका लागि निर्धारण गरिएको मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा असोज १२ गते सञ्चालन हुनेछ । यस्तै, असोज १२ गतेका लागि तय गरिएको मोटरसाइकल तथा स्कुटरको प्रयोगात्मक परीक्षा असोज १४ गते सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
कार्यालयका कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार परीक्षाबाहेकका अन्य नियमित सेवा तथा बाँकी परीक्षा तालिका भने पूर्वनिर्धारित समयमै सञ्चालन हुनेछन् ।
वर्षाका कारण सडक तथा यातायात आवागमनमा जोखिम बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै कार्यालयले परीक्षा तालिका संशोधन गरेको जनाएको छ ।










