बन्दीपुरमा वडाबाटै योजना सम्झौता शुरु
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गर्न सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना सहित शनिबार गाउँपालिकाको वडा नं. ६ बाट काम शुरु गरेको हो ।
गाउँपालिकाको सम्बन्धित टोली वडा नं. ६ स्थित धरमपानी पुगी योजना सम्झौता गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । स-साना योजनाहरु सम्झौता गर्न गाउँपालिका आउँदा सर्वसाधारणले दुःख नपाउन र समयको पनि बचत होस भनि वडावडाबाटै योजना सम्झौता गर्न थालिएको अध्यक्ष थापाले बताए ।
उनले भने, ‘योजना सम्झौता गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुःख मात्रै पाउने हुनले साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बढाइने पालिकाले जनाएको छ ।
सम्झौता कार्यक्रममा योजना सञ्चालनदेखि अनुगमन र भुक्तानीको प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भुक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।
यस्तै, शनिबार नै एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष थापाले धरमपानीमा अब छिट्टै प्रहरी चौकी र बैंकको शाखा ल्याउन पहल भइरहेको बताए । उनले प्रहरी चौकी स्थापना हुनसाथ बैंक शाखा स्थापना हुने बताए ।
गाउँपालिका अध्यक्ष सहितको प्रतिनिधिले वडा नं. ६ को धरमपानी र ग्याजाटार जोड्ने झोलुङ्गे पुल निमाण स्थलको अवलोकन गरेको थियो । धरमपनी र ग्याजाटारमा पुल नहुँदा स्थानीयले घण्टौ यात्रा गरी धरमपानी आउ जाउ गर्न बाध्य छन ।










