आँवुखैरेनीको गिरनचौर र हिलेखर्कलाई नमूना पर्यटकीय गाउँ बनाइने

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुइ वडामा पर्ने गाउँलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर १ को गिरनचौर र वडा नम्बर ६ को हिलेखर्कलाई नमूना पर्यटकीय गाउँ बनाउन लागेको हो ।

यसका लागि गाउँपालिकाले दुवै वडामा ३०/३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उक्त क्षेत्रमा रहेका घरबासलाई व्यवस्थितब गरी घुमाउने घरको संरक्षण एवं संवर्द्धन गरी पर्यटकलाई थप आकर्षण गर्ने लक्ष्य राखिएको छ ।

पृथ्वीराजमार्ग खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमर्जेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ । आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब २० रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

प्रदेश र संघीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको अध्यक्ष चुमानले जानकारी दिए । सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले केही बजेट विनियोजन गरेकाले छिट्टै अध्ययन गरी उचित स्थान ठहरिए प्रक्रिया अघि बढाइने उनले बताए ।

राजमार्गसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकाले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारण अघि बढाएको हो । गाउँपालिकाको वडा नं २ र ४ को सिमनामा पर्ने ऐनापहरामा ऐनापार्क बनाउन लागेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

बहुवर्षीय योजना अन्तर्गत आफ्नै स्रोतमा डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । कुल रु पाँच करोड लाग्ने अनुमानअनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना देखिएको उनले बताए ।

यस्तै, गाउँपालिका-५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । गण्डकी प्रदेशको ४७ करोड, संघीय सरकारको समपुरक रु छ करोड र आँबुखैरेनी गाउँपालिकाको रु एक करोड गरी रु ५४ करोड लगानी हुने गाउँपालिका अध्यक्ष चुमानले बताए ।

समुद्री सतहबाट दुइ हजार १३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताए ।

आँबुखैरेनी-३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । दुइ वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker