व्यास नगरपालिकाका दुइ वडा जोड्ने झोलुङ्गे पुल बन्ने
भञ्ज्याङ समाचारदाता/तनहुँ

व्यास नगरपालिका-१० को परेवा डाँडा र व्यास नगरपालिका-५ को चिन्तुटार जोड्ने मादी नदीमा २८२ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अघि बढाइएको छ । व्यास नगरपालिका वडा नं १० स्थित परेवा डाँडा नजिक मिदिम हाइड्रोको ३३ केभी प्रसारण लाइनका तारका कारण पुलको टावर ठडयाउन बाधा भएकाले विद्युत् खम्बालाई वैकल्पिक रुटमा सारेर पुल निर्माण कार्य अघि बढाउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी, पूर्वाधार कार्यालय, विद्युत् प्राधिकरण, मिदिम हाइड्रो आयोजना, स्थानीय जनप्रतिनिधिले पटकपटक बसेर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेकामा आइतबार बसेको स्थानीय भेलाले पुल निर्माण गर्ने सहमति भएको हो ।
विद्युत खम्बाका लागि पहिला खनेको डोबभन्दा करिब तीन मिटर तल खम्बा गाड्दा दुवै पक्षलाई असर नपर्ने गरी पुल निर्माणका लागि सहमति जुटेको व्यास-१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पुलको टावर ठडाएपछि करिब १५ दिनभित्र लठ्ठा तान्नेलगायतका कार्य अघि बढ्छ । उहाँले भन्नुभयो, “उक्त स्थानमा पुल बनेपछि स्थानीयवासीले घुमाउरो र लामो दुरी हिँड्नुपर्ने बाध्यताको समेत अन्त्य हुन्छ ।”
विसं २०७३ मा फिल्ड सर्भे गरेर टेण्डर निकाले पनि इष्टिमेसनमा १५२ मिटरको मात्रै पुल भएकाले पुनः बोलपत्र आहृवान गर्नुपर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको सापकोटाले जानकारी दिनुभयो । पुल निर्माण भई प्रयोगमा ल्याइसक्ने अवस्थामा विद्युत लाइनका कारण पुल निर्माण कार्य प्रभावित भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको रु ७० लाख आर्थिक सहयोगमा पूर्वाधार कार्यालयले अनुगमन गर्नेगरी संघीय सरकारले बोलपत्र आहृवान गरेको थियो । हाइड्रोको ३३ केभी प्रसारण लाइन शक्तिशाली लाइन भएकाले पुलको काम गर्न उच्च जोखिम रहेका कारण जमिनमूनिबाट विद्युत् लाइन लैजान खोजे पनि बढी खर्चिलो हुने देखिएपछि चार वटा विद्युत् खम्बा सार्ने सहमति भएको हो ।
पुलको इष्टिमेसन हुँदा उक्त विद्युत् लाइन नभएको र अहिले विद्युत् लाइन टागिएकाले विद्युत् खम्ब्ाा सारेर पुलको काम अघि बढाउन लागेको व्यासनगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । खम्बा गाड्नका लागि अहिले जहाँ खाडल खन्न खोजिएको छ, त्यसलाई अलिकति मिलाएर तल सारेका खण्डमा दुवै पक्षलाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।










