आदिकवि भानुभक्त क्याम्पसलाई ‘उत्कृष्टताको केन्द्र’ बनाउने विषयमा अन्तरक्रिया
बहुपक्षीय सहकार्यमार्फत तनहुँको शैक्षिक उन्नयनमा जोड

दमौली : तनहुँको पुरानो शैक्षिक धरोहर आदिकवि भानुभक्त क्याम्पसलाई ‘उत्कृष्टताको केन्द्र’ बनाउने पहल गरिएको छ । क्याम्पसलाई ‘उत्कृष्टताको केन्द्र’का रूपमा विकास गर्ने लक्ष्यसहित सरकारी तथा गैरसरकारी, सामुदायिक र शैक्षिक संस्थाबीच सहकार्यको सम्भावनाबारे बिहीबार अन्तरक्रिया गरिएको छ ।
क्याम्पसले व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको कार्यकक्षमा भएको उक्त अन्तरmित्रयामा विभिन्न विश्वविद्यालय, आयोग, स्थानीय तह तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बहुपक्षीय सहकार्यले क्याम्पसको गुणस्तर अभिवृद्धि र स्रोत सुनिश्चितता दुवै सम्भव हुने बताए । उनले विश्वविद्यालयको प्राज्ञिक मार्गदर्शन र नगरपालिकाको आर्थिक तथा भौतिक सहयोग एकसाथ जुटेमा क्याम्पसलाई उत्कृष्टताको केन्द्रमा रूपान्तरण गर्न सकिने धारणा राखे ।
‘क्याम्पस समुदायसँग एकीकृत भई अघि बढ्नुपर्छ’, अध्यक्ष अधिकारीले भने, ‘यसबाट प्राध्यापक, कर्मचारी र समुदायले विज्ञता हासिल गर्ने वातावरण बन्छ, नयाँ र समयसापेक्ष विषय सञ्चालन गर्ने अनुमति र क्षमता पनि विकास हुन्छ ।’
सो अवसरमा आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापाले स्थानीय निजी क्षेत्र, बैंक तथा उद्योगसँग सहकार्य आवश्यक रहेको औल्याए । उनका अनुसार यस्तो सहकार्यले विद्यार्थीलाई इन्टर्नसिप तथा रोजगारीमा प्राथमिकता दिलाउने मात्र होइन, युवामा उद्यमशीलता विकास गरी स्थानीय स्रोत–साधनको अधिकतम परिचालनमार्फत आर्थिक समृद्धिमा टेवा पुग्नेछ । उनले भने, ‘शिक्षा र अर्थतन्त्रलाई जोड्ने पुल बहुपक्षीय संस्थागत सहकार्य नै हो ।’

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय शैक्षिक उत्कृष्टता केन्द्रका निर्देशक प्राध्यापक डा. काफ्लेले सहकार्यले क्याम्पसलाई अनुसन्धान र प्रयोगात्मक थलोका रूपमा विकास गर्न सकिने बताए । उनले क्याम्पसले आफ्नो पाठ्यक्रम र अनुसन्धानलाई समुदायको आवश्यकता र स्थानीय सन्दर्भसँग जोड्नुपर्नेमा जोड दिँदै विश्वविद्यालय र स्थानीय क्याम्पसबीचको सहकार्यले मौलिक ज्ञान तथा सीपलाई प्राज्ञिक दस्तावेजमा उतार्ने अवसर सिर्जना हुने उल्लेख गरे । उनले भने, ‘क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा प्रयोग गर्दा स्थानीय समस्याको समाधान स्थानीय स्तरमै खोज्न सकिन्छ ।’
यस्तै, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकालाई आवश्यक पर्ने शैक्षिक, प्राविधिक तथा प्रशासनिक जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्नुपर्ने आवश्यकता औल्याए । नगरको नीति निर्माण, सहरी विकास र सामाजिक सर्वेक्षणजस्ता कार्यमा उच्च शैक्षिक विज्ञहरूको बौद्धिक परामर्शले वैज्ञानिक तथा प्रभावकारी विकास योजना बनाउन सकिने उनको भनाइ थियो । नगरप्रमुख न्यौपानेले भने, ‘नगर र क्याम्पसबीचको सहकार्यले स्थानीय विकासलाई दीर्घकालीन दिशा दिन सक्छ ।’
अन्तरक्रियामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल, राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरूको संगठन (एन–प्याप्सन)का केन्द्रीय उपाध्यक्ष दिपेन्द्र चौहान लगायतले पनि सहकार्यको आवश्यकता र सम्भावित कार्यक्रमबारे धारणा राखेका थिए । निजी विद्यालय र उच्च शिक्षाबीचको समन्वयले विद्यार्थीको शैक्षिक यात्रालाई सहज र व्यवस्थित बनाउन सकिने उनीहरूको भनाइ थियो ।
आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसका उपाध्यक्ष श्रीराम कार्की, शैक्षिक जनशक्ति छनोट समितिका संयोजक प्रा.डा. ईश्वरचन्द्र वाग्ले, सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख बिमल गिरी, उपप्राध्यापक विष्णु हड्खले तथा प्रशासन सहायक सुदर्शन पोखरेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले सहकार्यलाई कागजमै सीमित नराखी कार्यान्वयन तहसम्म पु¥याउन कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नियमित प्राविधिक बैठक, संयुक्त अनुसन्धान, विद्यार्थी आदान–प्रदान कार्यक्रम, सीपमूलक तथा रोजगारोन्मुख पाठ्यक्रम सञ्चालन र स्थानीय तहसँग समन्वित विकास परियोजना अघि बढाउने प्रस्तावसमेत उठाइएको थियो ।
तनहुँ जिल्लाको शैक्षिक उन्नयनका लागि क्याम्पसलाई केन्द्रमा राखेर अघि बढ्ने यस पहलले स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । बहुपक्षीय सहकार्य सफल भएमा आदिकवि भानुभक्त क्याम्पस तनहुँ मात्र होइन, गण्डकी प्रदेशकै एक नमूना शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।










