संक्रमणमुक्त हुने दर घट्दो
भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो । यही साउन ८ गते संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ । यही साउन ८ गते एक हजार ६७८ जना संक्रमणमुक्त भई घर फर्किएका थिए । यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुइ हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुइ हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना संक्रमणमुक्त भई घर फर्किका छन् ।
जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले संक्रमित बढिरहेकाले संक्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, ‘संक्रमित हुनेको संख्याको अनुपातमा संक्रमणमुक्त हुनेको संख्या कम देखिएकाले यो दर घटेको हो ।’ पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या सात लाख ५० हजार २२ पुगेको छ ।
५०० भन्दा बढी संक्रमित जिल्ला ११
अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पुर्व), कास्की, रुपन्देही गरी ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । दुइ सयभन्दा बढी संक्रमित हुने जिल्लाको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होमआइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।
यस्तै, तनहुँमा विहीबार ६५ जना कोभिड संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या ३९९ जना पुगेको छ भने ४१ जना निको भएका छन् । संक्रमणबाट १ जनाको मृत्यु ।










