क्षेत्रीय होटल संघ डुम्रे बजार इकाइमा सन्तोष
भञ्ज्याङ न्यूज

क्षेत्रीय होटल संघ तनहुँ डुम्रे बजार इकाइको सभापतिमा सन्तोष बहादुर थापा सर्वसम्मत चयन भएका छन् । इकाइको शनिवार सम्पन्न आठौं अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विष्णु थकाली, सचिवमा महेन्द्र शाही, सहसचिव सुजना श्रेष्ठ, कोषाध्यक्षमा इश्वर लामिछाने रहेका छन् । यस्तै अन्य सदस्यहरूमा हरिराम थापा, पदम थापा, सुनिल अधिकारी र अरूण श्रेष्ठ रहेका छन् ।
अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले व्यवसायीहरू एक जुट हुनुपर्ने बताए । व्यवसायीहरू समस्या पर्दा सहयोग गर्ने र आवश्यक परामर्शको लागि होटल संघ खुलेको भन्दै जोशीले नियम संगत तरिकाले व्यवसाय सञ्चालन गर्न कसैसँग डराउन नपर्ने बताए ।
कार्यक्रममा बन्दिपुर गाउँपालिका-१ का अध्यक्ष भानुभक्त पोख्रेलले मनाङदेखि बन्दिपुरसम्मको पर्यटकीय क्षेत्रमा जाने मुख्य प्रवेशद्वार डुम्रे भएको हुँदा यहाँ स्तरीय होटल खुल्नुपर्ने बताए । सबैभन्दा संवेदनशिल र महत्वपूर्ण क्षेत्र भनेको होटल क्षेत्र भएको चर्चा गर्दै अध्यक्ष पोख्रेलले पर्यटन क्षेत्रमा भएको लगानी अहिले धरासयी भएको बताए ।
‘होटल क्षेत्रमा लगानी गरेर नयाँपनमा जान र सेवाग्राहीलाई कसरी मन जित्ने तिर लाग्न पर्छ’, उनले भने, ‘होटल व्यवसायीलाई सुरक्षा चुनौति समेत रहेको हुँदा सबै ब्यबसायिहरू ऐकजुट र संगठित हुनुपर्दछ ।’
डुम्रे बजार इकाइका सभापति रामचन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष बिकास खनाल, महासचिव चन्द्रकुमार कायस्थ, जीवन शाही, दमौली इकाईका सभापति शंकर अधिकारी, महेन्द्र शाही, इश्वर लामिछाने, सन्तोष थापा लगायतले होटल व्यवसायका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










