उपसचिवबाट अवकाशपछि बन्दिपुर बानियाँटारका धनबहादुरको कागती खेती

तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती शुरु गर्नुभएको छ । पैतिस वर्ष सरकारी सेवामा बिताउनुभएका रानाले उपसचिव पदबाट अवकाश लिएपछि कागती खेती शुरु गर्नुभएको हो ।

उहाँले २१ रोपनी क्षेत्रफलमा आठ सय कागतीका बिरुवा लगाउनुभएको छ । कृषि ज्ञान केन्द्र तनहुँले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएको हो । ज्ञान केन्द्रको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत कागती खेती शुरु गरेको रानाले बताउनुभयो । “व्यावसायिक रुपमा कागती उत्पादन गर्ने उद्देश्य लिएर कागती खेती शुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “कागतीका बिरुवा रोपेको एक वर्ष भयो ।”

सुन्तला खेतीभन्दा कागती खेती गर्न परिश्रम बढी लाग्ने उहाँको भनाइ छ । “सुन्तला खेतीका लागि वर्षमा एक पटक परिश्रम गरे हुन्छ, तर कागतीलाई महिनाको एकचोटी विषादी हाल्नैपर्छ”, उहाँले भन्नुभयो । कागती खेतीमा क्याङ्कर रोगको समस्या बढी हुने भएकाले महिनाको एकपटक विषादी हाल्नैपर्ने उहाँको अनुभव छ । “रोग लागेपनि नलागेपनि सुरक्षाका लागि महिनाको एकपटक विषादी हाल्नैपर्छ”, उहाँले भन्नुभयो ।

रानाले कागती खेतीका लागि मलचिङ प्रविधि प्रयोग गर्नुभएको छ । मलचिङ गरेपछि चिस्यानबाट संरक्षण गर्ने, कम मल प्रयोग गरे हुने र बिरुवा राम्रो हुने उहाँको भनाइ छ । “मलचिङ गरेपछि पानीको संरक्षण, झार आउन नदिने, मलको काम गर्ने र विषादीको पनि काम गर्ने भएकाले यसको फाइदा छ”, उहाँले भन्नुभयो । कागती खेतीका लागि मलचिङ गर्न उहाँले सुझाव दिनुभयो ।

कागती खेतीका लागि सुख्खा मौसममा फागुनदेखि जेठसम्म १५÷१५ दिनमा अनिवार्य पानी हाल्नुपर्छ । “मैले कागती खेतीका लागि थोपा सिंचाई पनि प्रयोग गरेको छु, यसले कागती खेतीका लागि सहयोग पुगेको छ”, रानाले भन्नुभयो, “पहाडी भेगमा कागती खेती गर्दा थोपा सिंचाई अति उपयोगी हुन्छ ।” पानीको सुविधा, मलको उचित व्यवस्थापन र स्याहारसम्भार गर्न सके पहाडी भेगका जुनसुकै ठाउँमा पनि कागती खेती गर्न सकिने रानाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस ठाउँको कागती खेतीलाई तनहुँकै नमूनाको रुपमा विकास गर्न लागिएको बताउनुभयो । “गत वर्ष यस ठाउँमा थोपा सिंचाई प्रविधि प्रदर्शन र सुन्तलाका जात प्रदर्शन गरेका थियौ, कागतीको नमूना फार्म बनाउन पनि सहयोग ग¥यौ,” उहाँले भन्नुभयो । नमूना कागती फार्म भएकाले कागती खेती गर्नेले एकपटक यस ठाउँको अवलोकन गर्न प्रमुख तिवारीले सुझाव दिनुभयो । “यो ठाउँ हेरेपछि कागती खेती कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker