कोदोको ढिंडो, कोदोकै सेल महोत्सवको आकर्षण (फिटोफिचर सहित)

भञ्ज्याङ समाचारदाता (ऋषिङ)

सामान्यतया सेल चामलको पिठोबाट बनाइने परिकार हो । तर के सेल भन्नेबित्तिकै चामलकै बन्नुपर्छ भन्ने छ र ? कोदोको सेल बनायो भने त्यसको स्वाद कस्तो हुन्छ होला ? यो नयाँ परिकारलाई तनहुँको ऋषिङ गाउँपालिकाले भने ब्राण्ड बनाउने तयारी गरेको छ ।

खाद्य बालीमध्ये ऋषिङ गाउँपालिकामा सबैभन्दा धेरै उत्पादन हुने कोदो नै हो । तर यो अहिलेसम्म ‘गरिबको खाना’ भनेर चिनिने हुँदा आर्थिक स्थिति सुधार भएकाहरूले कोदोको उपभोग छाड्दै गए । त्यसपछि गाउँपालिकाले यसैलाई ब्राण्ड बनाउनको लागि पाँचौं ऋषिङ महोत्सवमा कोदोको ढिँडो र कोदोको सेललाई मुख्य खानाको रूपमा विकास गर्‍यो ।

सांस्कृतिक पुनःजागरणसँगै पर्यटन विकासको लक्ष्य

पाँचौं ऋषिङ सांस्कृतिक महोत्सव फागुन २८ गतेदेखि चैत १ गतेसम्म तनहुँमा जारी छ । ‘सांस्कृतिक संरक्षण, प्रतिभा प्रोत्साहन र पर्यटन प्रवर्द्धनको लागि पाँचौ ऋषिङ्ग साँस्कृतिक महोत्सव’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सिंगै गाउँपालिकाको जीवनशैलीलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिइएको उल्लेख गरेको छ ।
वडा नं ७ को कोटदहमा आरनमा फलामबाट हँसिया बनाउनेदेखि सोही वडामा परम्परागत भेषभुषा र बाजागाजामा नाच्न तयार रहेका स्थानीयको प्रस्तुतिलाई प्रदर्शनीको मुख्य आकर्षणको रुपमा राखिएको थियो । वडा नं ८ मा रहेको कटुवाल प्रथा होस् या त बिँडीको सर्का तान्ने बुढाबालाई समेत आकर्षणको रुपमा देखाएको छ । यी सबै सांस्कृतिक प्रस्तुतिकरणलाई ‘डिजिटाइज’ गर्ने काम भने स्टोरी साइकलले गरेको छ ।
जातीय परिकारसँगै गाउँपालिकामा धेरै उत्पादन हुने कोदोको ढिँडो र कोदोकै सेल रोटीलाई मुख्य आकर्षणको रूपमा अघि सारिएको गाउँपालिकाका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ऋषिङ सांस्कृतिक महोत्सव यो वर्ष अघिल्ला वर्षको तुलनामा केही भिन्न देखियो । विभिन्न युवा जनशक्तिलाई परिचालन गर्नेदेखि त्यहाँको सांस्कृतिक विशेषतालाई उजागर गर्दै आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्नु नै महोत्सवको मुख्य विशेषता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसवर्षको महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, स्थानीय जातजातिका पराम्परा अनुसारका नाच, राष्ट्रिय र स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, रोटे पिङ, स्थानीय खानाका परिकार र स्थानीय उत्पादनको बजारीकरण मुख्य आकर्षणका रूपमा रहेको आयोजकले जनाएको छ । यही महोत्सवमा ढिकीमा साग कुटेर गुन्द्रुक बनाउने कला, परम्परागत तानको प्रयोगबाट गलबन्दी बुन्ने महिला, बाजागाजासहित परम्परागत भेषभुषामा कौरा नाच समेत देखाइएको छ ।
विभिन्न जातजातिका सांस्कृतिक नाचहरु ज्यानै, ओहोली, झयाउरे, चुड्का, लाखे, घाटु, पञ्चैबाजा तथा लोकदोहोरी कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै, मगरजातिको लोपोन्मुख रोदीको झलक, रोटेपिङ, मगरजातिको खानाको परिकार पनि महोत्सवका आकर्षाका रुपमा रहेको आयोजकले जनाएको छ ।

ऐतिहासिक महत्वको क्षेत्र

प्राचीन किंवदन्ती अनुसार ऋषिङ गाउँपालिका श्रृङ्ग ऋषिले तपस्या गरेकोले यो ठाउँको नाम नै ऋषिङ राखिएको बताइन्छ । ऋषिङ गाउँपालिकामा रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थलहरू रहेका छन् ।

कोटदरबार मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेको ठाउँ हो भन्ने मान्यता छ । अन्य विभिन्न पुराना मठमन्दिरहरुको यो क्षेत्र ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रमा समेत महत्वपूर्ण मानिन्छ । तस्विर सौजन्य : स्टोरी साइकल

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker