भानुभक्त क्याम्पसको ४०औँ वार्षिकोत्सवमा बृहत स्वास्थ्य परीक्षण तथा परामर्श शिविर हुने

दमौली । आदिकवि भानुभक्त क्याम्पसको ४०औँ वार्षिकोत्सवको अवसरमा व्यास नगरपालिका र चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल, भरतपुरको सहकार्यमा बृहत सामुदायिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श शिविर आयोजना गरिने भएको छ।
व्यास नगरपालिका–१० दुम्सीस्थित व्यासनगर अस्पतालमा आगामी भदौ १४ गते शनिबार र १५ गते आइतबार शिविर सञ्चालन गर्ने सम्बन्धमा क्याम्पस र चितवन मेडिकल कलेज अस्पतालका प्रतिनिधिबीच छलफल भएको हो।
छलफलमा चितवन मेडिकल कलेज अस्पताल, भरतपुरका तर्फबाट अस्पताल प्रमुख डा. हरिशचन्द्र न्यौपाने, इमर्जेन्सी विभागका डा. दामोदर लम्साललगायतको सहभागिता रहेको थियो।
त्यस्तै, आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी तथा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल, क्याम्पस इकाइका अध्यक्ष राजन घिमिरे सहभागी थिए ।
बालकुमारी क्याम्पस, नारायणगढका मुख्य प्रशासक चन्द्रकान्त पौडेलको सम्योजनमा आयोजित छलफलमा बालकुमारी क्याम्पसका आइक्युएसी प्रमुख डा. श्याम सेडाइको समेत उपस्थिति रहेको थियो।
शिविरमार्फत स्थानीय समुदायसहित सर्वसाधारणलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने तयारी गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्तालले जानकारी गराए ।
क्याम्पसको ४०औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायको स्वास्थ्य सेवामा योगदान पुर्याउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।










