जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा तीन जनाको मृत्यु

नवलपुर (नवलपरासी) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु भएको छ ।  गत साउन २० देखि हालसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको जानकारी दिनुभयो ।
मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उहाँहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकामा त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । “सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”
जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उल्लेख गर्नुभयो । “सङ्क्रमित दुवै बिरामीको काठमाडौँमा उपचार भइरहेको छ”, उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिको सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उहाँहरूको अवस्था गम्भीर बन्न थाल्छ ।”
उहाँका अनुसार सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका चार र हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक÷एक जना छन् ।
“सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ”, उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएकाको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उहाँहरूको अवस्था सामान्य छ ।” सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमा बसिरहनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रयोगशाला प्राविधिक निरीक्षक तिवारीका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको उहाँको छ ।
जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्म बिरामीको मृत्युसमेत हुनसक्ने निरीक्षक तिवारीले बताउनुभयो । यो रोग हाँस, कुखुरालगायत चराचुरुङ्गी र सुँगर, बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उहाँले जानकारी दिनुभयो ।
तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । जिल्लामा जापानिज इन्सेफलाइटिसबाट एक महिनामा तीन जनाको मृत्यु भएपछि कार्यालयबाट समुदायमा सचेतना फैलाउने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थी एवं नागरिक समाजको सहकार्य र समन्वयमा यो रोग लाग्ने सम्भावना, जोगिने उपायलगायत विषयमा सचेतना फैलाइएको तिवारीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट जोगिन हाँस, कुखुरा तथा सुँगुर, बङ्गुर खोर, समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने उहाँको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएकामा आव २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker