सामीको समन्वयमा पीडितलाई रु ३२ करोड १४ लाख क्षतिपूर्ति उपलब्ध

दमौली : वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुँका आप्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन -सामी) कार्यक्रमको समन्वयमा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउनुका सार्थ आवश्यक परामर्श सेवा प्रदान गरिएको छ । सामीको समन्वयमा तनहुँमा हालसम्म ३२ करोड १४ लाख ५८ हजार ५१८ रुपैयाँ बराबरको क्षतिपूर्ति तथा आर्थिक सहायता उपलब्ध गराइएको छ ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, स्थानीय तहको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममार्फत सहायता उपलब्ध गराइएको सामीकी जिल्ला संयोजक लुना रानामगरले जानकारी गराइन् ।
२०७६ मंसिर १ गतेदेखि सञ्चालनमा आएको यस संस्थाले २०८२ असार मसान्तसम्म सामी कार्यक्रमले तीनै तहका सरकारसँग समन्वय गरी विभिन्न प्रकृतिका मुद्दामा उक्त रकम उपलब्ध गराइएको संयोजक रानामगरले बताइन् ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै तीन करोड ४९ लाख ८३ हजार ९०६ रुपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता पीडित परिवारलाई उपलब्ध गराइएको छ । हालसम्म कुल ३५ करोड ६४ लाख ४२ हजार ४२४ रुपैयाँ सहायता रकम उपलब्ध गराइएको उनले जानकारी गराइन् ।
यस्तै, जिल्लामा सामी कार्यक्रम सञ्चालन पश्चात वैदेशीक रोजगारीका क्रममा ४ महिला र १२४ पुरुष गरी १२८ जना मृत्युको मुद्दा दर्ता हुन आएकामा सामीको समन्वयमा १२४ जना मृतकको परिवारलाई २० करोड ४३ लाख ४४ हजार ५१८ रुपैयाँ आर्थिक सहायता/क्षतिपुर्ति उपलब्ध गराइएको छ ।
यस वर्ष केन्द्रमा प्राप्त ११९ वटा समस्या/उजुरीमध्ये ५५ वटाको सफल निरूपण भइसकेको छ भने बाँकी ६४ वटा उजुरी प्रक्रियामा रहेको बताइएको छ । चालु आर्थिक वर्षमा पालिकागत रूपमा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकाका पीडितले १ करोड ९ लाख ६२ हजार २८१ रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् ।
त्यस्तै म्याग्दे गाउँपालिकाका पीडितले ८७ लाख ९९ हजार र भानु नगरपालिकाका पीडितले ८४ लाख ७६ हजार रुपैयाँ प्राप्त गरेका छन् । सामीमा दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा बढी ठगीसम्बन्धी ३९५ वटा मुद्दामा ५ करोड ४६ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
यस्तै, सम्झौता वा करार उल्लङ्घनसम्बन्धी १०५ वटा मुद्दामा ११ लाख रुपैयाँ, कार्यस्थलमा भएका दुर्घटना, चोटपटक तथा स्वास्थ्य उपचारसम्बन्धी १९४ वटा मुद्दामा छ करोड १२ लाख ९८ हजार रुपैयाँ तथा अन्य विविध २६ वटा मुद्दामा ५५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाइएको जिल्ला संयोजक रानामगरले जानकारी गराइन् ।
विदेशी जेलमा परेका २९ जना, अलपत्र परी उद्धार गरिएका ९८ जना तथा सम्पर्कविहीन भएका २६ जना कामदारको समस्या समाधानका लागि सम्बन्धित राजदूतावास तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिएको केन्द्रले जनाएको छ ।
आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा मात्रै जिल्लाका सात हजार ९६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । जसमध्ये सबैभन्दा बढी व्यास नगरपालिकाका १ हजार ५५३ जना, शुक्लागण्डकी नगरपालिकाका १ हजार ३२० जना तथा भानु नगरपालिकाका १ हजार १४४ जनाले सेवा लिएको बताइएको छ ।
यस्तै, केन्द्रले मंगलबार आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार सम्बनधी प्रवाह गरेका सेवा तथा उपलब्धी विवरण सार्वजनिक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै जोखिम समेत बढ्दै गएको बताए । उनले भने, …तनहुँजस्तो जिल्लाका लागि सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै गएको र जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका कार्यालयबाटै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई राहदानी बनाउने चरणदेखि सही सूचना, सिप र वित्तीय साक्षरतासम्बन्धी परामर्श दिँदा ठगीका घटनामा कमी आएको छ ।Ú
…समस्यामा परेका कामदार तथा परिवारले समयमै न्याय, परामर्श र सहयोग प्राप्त गर्ने वातावरण बन्दै गएको छÚ, नगरप्रमुख न्यौपानेले भने, …वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः समाजमा स्थापित हुन, उद्यमशीलतामा जोडिन तथा सुरक्षित वैदेशिक रोजगारका लागि आवश्यक परामर्श कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाको नीति तथा कार्यक्रममा समेट्दै लगिएको छ ।Ú
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लाम्सालले नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन
-सामी) कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सञ्जाल निर्माण गरी आवश्यकता अनुसार सहजिकरण गर्दै लगिएको बताए।
यस्तै, वैदेशिक रोजगारीबाट आर्जन गरिएको रकमको सहि सदुपयोगका लागि २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्दै आइएको उपप्रमुख इन्दिरा दरैले बताइन् ।










