तनहुँका १० वटै पालिकाका उम्मेदवारहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्थ
भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय तहको निर्वाचनका कारण अहिले तनहुँको जनजीवन चुनावमय बनेको छ । जिल्लाका १० वटै पालिकाका उम्मेदवारहरु अहिले मतदाताको घरदैलो, खेतबारी, गोठालासम्म पुगेर आ-आफ्नो पक्षमा मत माग्न व्यस्थ छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घरघरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
तनहुँका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे-३ स्थित मकै गोडिरहेका मतदातासँग बारीमै पुगेर मत मागेका छन् । अहिले मकै गोड्ने बेला परेकाले कतिपय मतदाता बारीमा भेटिने भएकाले बारीसम्म पुगिएको श्रेष्ठले बताए । आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको श्रेष्ठले बताए ।

म्याग्देलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा मतदाताको सुझाव समेत लिने गरेको बताउँदै उनले भने, ‘आफ्नो चुनावी घोषणापत्र भएपनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरि निर्वाचित भएपछि काम गर्ने छु ।’
ऋषिङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिराज कँडेलले पनि मकै बारीमा पुगेर मतदातालाई भेटेका छन् । उनले भने, ‘टाढाबाट नमस्कार गरेर पनि मत माग्न सकिन्थ्यो तर मतदाताको भावनाको सम्मान गर्नका लागि पनि बारीसम्म पुगेको छु ।’ मतदातालाई बारीसम्म पुगेर आफ्ना कुराहरु राख्न पाउनु र उहाँहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको कंडेलले बताए ।
बारीसम्मै आइपुगेर मत मागेपछि कृषकहरु खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । ऋषिङ गाउँपालिकाकै अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले पनि बारीमा काम गरिरहेका मतदातासँग भेटेर मत मागेका छन् ।

यस्तै, व्यास नगरपालिकाका उम्मेदवार पनि खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिका-११ अध्यक्षका उम्मेदवार दलबहादुर दुराले गोठाला गएका कृषकसँग भेट गर्दै मत मागेका छन् । बाख्रा चराउन पुग्नुभएकी एक महिलासँग भेटेर मत माग्दै दुराले आफ्नो कार्ययोजना सुनाएका थिए । घरघरमै पुगेर मतदातालाई भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा चलेको छ ।
घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गर्न अहिले उम्मेदवारहरुको दौडधुप चलेको छ । खेतीपातीको समय भएकाले उम्मेदवार खेतबारीमै पुगेर पनि मत मागेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका प्रमुखका उम्मेदवार काजीमान श्रेष्ठ र उपप्रमुखका उम्मेदवार मिलन आले नगरपालिकाका नौवटै वडामा घरदैलो गरिरहेका छन् ।

यता भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, आँवुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिकाका उम्मेदवारहरु पनि मतदातालाई भेट्न र आ-आफ्नो पक्षमा मत माग्नका लागि घरदैलो, खेतबारी, गोठालासम्म पुगेका छन् ।
सत्तारुढ गठबन्धनकै तर्फबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र खुमबहादुर विक पनि जनताको मन जित्ने उद्देश्यका साथ घरदैलोमा व्यस्त छनु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुखका उम्मदेवार मुक्तिनाथ तिमिल्सिना र उपप्रमुखमा उम्मेदवार फूलमाया थापाले पनि वडामा घरदैलो अभियानलाई तीव्र पारेका छन् । उम्मेदवारहरुले घरदैलो अभियानसंगै ठाउँठाउँमा चुनावी सभा समेत गरेर मतदातालाई आफ्ना कुरा व्यक्त गर्दै आएका छन् ।










