प्रमुख प्रशासकीय अधिकृतलाई कडा नियम- के गर्न हुने, के नहुने ? (पूर्णपाठ)

काठमाडौं । सरकारले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूका लागि आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उक्त आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । जसमा प्रमुख प्रशासकीय अधिकृतहरूको सदाचारिता, कार्यसम्पादन शैली र सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ ।

उनीहरूले कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् । सामाजिक सञ्जालमा कार्यालयको कामप्रति गुनासो पोख्न, सहकर्मीको मानमर्दन हुने गरी प्रतिक्रिया दिन र स्थानीय तह, प्रदेश, केन्द्रीय सरकारको निर्णयको गलत व्याख्या गर्न रोक लगाइएको छ ।

सामाजिक सञ्जालमा कुनै पनि राजनैतिक पूर्वाग्रह राखेर टिप्पणी गर्न पाइने छैन । साथै, सरकारी सेवाको मर्यादा र आस्थामा आँच आउने गतिविधि पनि गर्न नहुने भनिएको छ ।

पदीय दुरुपयोग गरी व्यक्तिगत लाभ लिनबाट रोक्न सदाचारितासम्बन्धी नियमहरू राखिएका छन् । सेवाग्राही, ठेकेदारहरूको सौजन्यमा होटल वास, खाजाखाना, सवारी तथा अन्य कुनै सुविधा लिन वञ्चित गरिएको छ । साथै कसैको निजी निवासमा भेट्न पनि निषेध गरिएको छ ।

खरिद प्रक्रिया वा ठेक्कापट्टामा आफ्ना नजिकका नातेदारलाई लाभ पुग्ने गरी कुनै पनि प्रभाव पार्न नपाइने आचारसंहितामा उल्लेख छ ।

कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, चन्दा वा आतिथ्यता स्वीकार गर्न रोक लगाइएको छ । मन्त्रालयको पूर्व स्वीकृति बिना वैदेशिक भ्रमण, तालिम वा गोष्ठीमा सहभागी हुन पाइने छैन । यस्तै, कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, तासजुवा खेल्न पनि वर्जित गरिएको छ ।

आचारसंहिताले अधिकृतहरूलाई जिम्मेवारीप्रति लगनशील हुन र कार्ययोजना बनाएर नतिजामूलक काम गर्न भनेको छ । कार्यालय समयमा बाहिर जाँदा अनिवार्य रूपमा ‘लगबुक’ मा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

आचारसंहिता पालना भए/नभएको अनुगमनका लागि सम्बन्धित मन्त्रालयको सचिव र उपसचिवलाई जिम्मेवारी तोकिएको छ । उल्लंघन गरेको पाइए कारबाही गरिने उल्लेख छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker