पाँचौंपटक म्याद थप्दा पनि बनेन दमौलीको नमुना पशु अस्पताल, ७७ प्रतिशत भौतिक प्रगति, उपकरण थन्किए

दमौली : गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको तनहुँको दमौलीस्थित नमुना पशु अस्पतालको भवन निर्माण पाँचौँपटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । भवन निर्माणमा ढिलाइ हुँदा पशुपालक किसानलाई विशेषज्ञ सेवा दिने उद्देश्यले अघि बढाइएको आयोजना अलपत्रजस्तै बनेको छ । अस्पतालका लागि आवश्यक अत्याधुनिक उपकरण उपलब्ध भइसके पनि भवन नहुँदा सेवा सञ्चालन हुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाका अनुसार भवन निर्माण सम्पन्न गर्ने म्याद आगामी २०८३ चैत ११ गतेसम्म थप गरिएको छ । तर, म्याद थपिए पनि निर्माण व्यवसायीले काम अघि नबढाएको उनले बताए । उनले भने, ‘म्याद थपिएको छ तर ठेकेदारले बेवास्ता गर्दै काम सुरु गरेका छैनन् ।’

संघीय सरकारले भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेपछि निर्माणाधीन भवनको अवधि थपिएको कार्यालयले जनाएको छ। भवनको भौतिक प्रगति ७७ प्रतिशत पुगेको भए पनि लामो समयदेखि निर्माण कार्य रोकिएको छ ।

निर्माण कम्पनीले वि.सं. २०७८ साउन १२ गते २०७९ पुस १२ भित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्धारित समयमा काम पूरा नभएपछि पटकपटक म्याद थपिँदै आएको हो । यसअघि चौथोपटक थपिएको म्याद २०८३ जेठ १० गतेसम्म कायम थियो । उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको हो ।

भवन निर्माणमा भएको ढिलाइको प्रत्यक्ष असर पशु स्वास्थ्य सेवामा परेको छ । अस्पतालका लागि आवश्यक उपकरण उपलब्ध भएपनि एक्स–रे, शल्यक्रिया तथा प्रयोगशालासहितका सेवा सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ । भवन अभावकै कारण विशेषज्ञ उपचार सेवा विस्तार गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन ।

भ्याटबाहेक चार करोड ९० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको साढे दुई तले भवनमा आकस्मिक सेवा, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछन् । निर्माण व्यवसायीले सम्झौताअनुसारको रकममध्ये ५५ प्रतिशत भुक्तानी लिइसकेको कार्यालयको भनाइ छ ।

प्रदेश सरकारले आवश्यक पूर्वाधार र उपकरणसहित नमुना पशु अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । तनहुँसहित लमजुङ, गोरखा र आसपासका क्षेत्रका पशुपालक किसानलाई विशेषज्ञ पशु स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना अघि बढाइएको हो । अस्पताल सञ्चालनमा आएपछि पशुको जटिल रोगको परीक्षण, उपचार तथा शल्यक्रियाका लागि टाढाका केन्द्रमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

तर, निर्माण सम्पन्न हुने मिति पटकपटक सर्दा किसानले पाउने भनिएको सेवा अनिश्चित बनेको छ । तनहुँ र कास्कीमा एकैसाथ निर्माण थालिएका नमुना पशु अस्पतालमध्ये कास्कीको भवन सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको छ । दमौलीको आयोजना भने पाँचौँपटक म्याद थप्दासमेत पूरा हुन सकेको छैन ।

आयोजनाको ७७ प्रतिशत भौतिक प्रगति देखिए पनि बाँकी काम कहिले सकिन्छ भन्ने स्पष्ट छैन । म्याद थप्ने प्रक्रिया मात्र दोहोरिरहने तर निर्माणस्थलमा काम नहुने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने देखिन्छ । उपकरण प्रयोगविहीन राखेर किसानलाई सेवाबाट वञ्चित गरिरहनुभन्दा निर्माणको बाँकी कामलाई समयसीमाभित्र पूरा गराउने र प्रगतिको नियमित अनुगमन गर्ने व्यवस्था आवश्यक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker