मतदाता नामावली दर्ताका लागि गाउँगाउँबाट बस रिजर्भ गरी सदरमुकाममा

सबिन लामिछाने/तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ की लालुमाया बानियाँले मतदाता नामावलीका लागि मंगलबार फोटो खिचाइन् । २६ वर्षकी उनले दमौलीमा रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा आएर मतदाता परिचयपत्र बनाउन नाम दर्ता गराइन् र फोटो खिचाइन्।

१८ वर्ष उमेर पुगेपछि मतदाता नामावलीमा नाम दर्ता गरेर भोट हाल्न पाइने भए पनि उनलाई यसअघि भोट हाल्ने रहर थिएन । त्यसैले उनले नाम नै दर्ता गरिनन् । ‘पहिले बनाएको थिइनँ, के काम होला भन्ने थियो,’ फोटो खिचाएपछि उनले भनिन्, ‘सबैले भोट हाल्नुपर्छ, हाम्रो अधिकार हो भनेपछि आएको हुँ ।’

बानियाँ मात्र होइन, उनको गाउँकी २१ वर्षीया रक्षा क्षेत्री पनि फोटो खिचाउन आएकी छिन् । ‘समयमा नै मतदाता परिचयपत्रमा नाम दर्ता गर्नुपर्ने रहेछ । अस्तिनै नाम नभएकाले स्थानीय चुनावमा भोट हाल्न नै पाइनँ,’ उनले भनिन्, ‘प्रदेश र संघको चुनाव हुने भन्ने कुरा छ, त्यही भएर नाम दर्ता गर्न आएको हुँ ।’

जिल्ला निर्वाचन कार्यालय दमौलीमा नयाँ नाम दर्ता गर्ने मात्र होइन, नाम ठेगान सच्याउन आउने पनि छन् । म्याग्दे गाँपालिका वडा नं. ७ का अशक्त ५९ वर्षीय कृष्ण विकले भने, ‘पहिला अर्के जिल्लामा नाम थियो, अहिले यहाँ बसाइँसराइँ गरेर आएपछि ठेगाना सच्चाउन आएको हुँ, एक नागरिक भएको हैसियतले आफनो कर्तव्यको पालना त गर्नै पर्‍यो नि ।’

स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली संकलन असार १ गतेदेखि फेरि सुरु भएको छ । त्यसैले अघिल्लो निर्वाचनमा मतदान गर्न नपाएको पछुतो र आगामी निर्वाचनमा भाग लिने उद्देश्यका साथ फोटो सहितको मतदाता परिचयपत्रमा आफ्नो नाम दर्ता गराउन आउने धेरै रहेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

उनका अनुसार मतदाता नामावली दर्ताका लागि विभिन्न गाउँबाट नागरिक बस रिजर्भ गरेर आउने गरेका छन् । उनले भने, ‘नागरिकहरु मताधिकार सुरक्षित गर्न उत्साहित देखिनुभएको छ । यसरी एकै पटक नआएर बिस्तारै नाम दर्ता गराउन आए पनि हुने हो तर स्थानीय राजनीतिक दलले पनि हतार गरे जस्तो देखिन्छ । उहाँहरुले नै गाडी रिजर्भ गरेर गाउँगाउँबाट ल्याउने गर्नुभएको छ ।’

मतदाता नामावली दर्ताको लागि बाहिरी जिल्लाबाट आउने गरेको उनले बताए । ‘लमजुङको मध्यनेपालबाट पनि एउटा समूह बस रिजर्भ गरेर आउने भनेर जानकारी दिनुभएको छ,’ उनले भने, ‘अहिले दिनैपिच्छे कार्यालयमा भीड हुन्छ, कर्मचारीलाई भ्याइनभ्याइ छ ।’

मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्तास्थल राखिएको छ । निर्वाचन कार्यालयमा तीन र प्रशासन कार्यालयमा एक दर्तास्थल राखिएको छ । प्रशासन कार्यालयमा नागरिकता वितरण हुने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । दुवै ठाउँमा गरी दैनिक एक सय भन्दा बढीको मतदाता नामावली दर्ता भइरहेको ढकालले बताए ।

मतदाताको लागि फोटो सहित नाम दर्ता गर्न जता सजिलो र नजिक पर्छ त्यही गएर मतदाता नामवली दर्ता गर्ने गरेको उनले बताए । फोटो सहितको मतदाता नामावली संकलन जारी रहँदा तनहुँमा मात्रै असारमा ४ हजार ८८४ मतदाता थपिएका छन् । तनहुँ बाहिरका एक सय आठ जना मतदाताले पनि यही फोटो खिचाएका छन् ।

नामावलीमा रहेको कुनै विवरण सच्याउनुपरेमा सोलाई पुष्टि गर्ने नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीको ठेगाना र्सार्नु परेमा विवाह दर्ता वा बसाइसराइ प्रमाणपत्र, एउटै वडाभित्रको एउटा मतदानस्थलबाट अर्कोमा सार्नुपरेमा मतदाताको निवेदन, विवाह वा बसाइसराइ भई अन्तर जिल्ला ठेगाना र्सार्नुपरेमा नामावली रहेको जिल्ला वा जान चाहेको जिल्लामध्ये कुनै पनि जिल्लाको निर्वाचन कार्यालयमा निवदेन दिन सक्ने कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचनको मिति नतोकुञ्जेल मतदाता परिचय पत्र बनाउने कार्यक्रम जारी रहने भएकाले छुटेका कुनै पनि योग्य नागरिकले मतदाता परिचय पत्र बनाउने निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

तनहुँमा हालसम्म दुइ लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । गएको स्थानिय तहको निर्वाचनमा एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुइ सय छ मतदाता रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker