खेर गएका प्लाष्टिकबाट सडक निर्माण
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ । शुक्लागण्डकी-७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो । नगरपालिका-७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको बताइएको छ ।
३३० मिटर लामो सडकको चौर्डाई ३.५ मिटर रहेको छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताए । उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट संकलन गरी ल्याइएको उनले बताए । सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्याल बताए ।
पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो । केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो ।
सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए । सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले ४९ लाख रुपैयाँ र नगरपालिकाको तीन लाख रुपैयाँ लगानी गरेकोे बताइएको छ ।










