प्रदेश अस्पताल दमौलीमा एक सातामै दुई हजारभन्दा बढी बिरामीको उपचार

दमौली : गण्डकी प्रदेश सरकार मातहत रहेको प्रदेश अस्पताल दमौलीले एक साताको अवधिमा दुई हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
अस्पतालले सार्वजनिक गरेको वैशाख २७ देखि जेठ २ गतेसम्मको सेवा विवरणअनुसार उक्त अवधिमा कुल दुई हजार १८ जना बिरामीले सेवा लिएका हुन् । जसमध्ये बहिरङ्ग सेवा -ओपीडी) बाट ८९५, आकस्मिक सेवा -इआर) बाट ४२ तथा भर्ना भई उपचार लिने बिरामीको संख्या २४३ रहेको छ।
अस्पतालका अनुसार उपचार सेवा लिनेमध्ये एक हजार ११० जनाले स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिएका छन् भने ९०६ जना सामान्य बिरामी रहेका छन् । सामाजिक सेवा इकाइ -एसएसयू) अन्तर्गत दुई जनाले सेवा प्राप्त गरेको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी गराए ।
विभागगत विवरणअनुसार सो अवधिमा जनरल ओपीडीमा सबैभन्दा बढी ८ सय ९५ बिरामीले सेवा लिएका छन् । त्यस्तै हेमोडायलाइसिस सेवामा १ सय ७१, बालरोगमा १ सय ७१, आँखा विभागमा १ सय ७९, अर्थोपेडिक विभागमा १ सय ४६ तथा स्त्री तथा प्रसूति रोग विभागमा ९० बिरामीले उपचार गराएका छन् ।
दन्त विभागमा ६४, परिवार नियोजन सेवामा ११ तथा शल्यचिकित्सा विभागमा ६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । आकस्मिक सेवातर्फ साताभर २ सय ४३ जनाले उपचार लिएका छन् ।
दिनगत विवरणअनुसार सोमबार सबैभन्दा बढी ४ सय ८८ बिरामीले सेवा लिएका थिए भने मंगलबार ३ सय ९६, बुधबार ३ सय ५६, बिहीबार ३ सय ४४ र शुक्रबार ३ सय ११ जनाले उपचार सेवा प्राप्त गरेका थिए । शनिबार ५६ तथा आइतबार ६७ बिरामीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालले सार्वजनिक गरेको शल्यक्रिया सेवा विवरणअनुसार सात दिनमा सात वटा शल्यक्रिया सम्पन्न भएका छन् । जसमध्ये दुई वटा मेजर अपरेशन र पाँच वटा माइनर अपरेशन गरिएको हो । अर्थोपेडिक विभागमा तीन तथा सर्जरी विभागमा चार वटा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।
प्रदेश अस्पताल दमौलीले दैनिक रूपमा बिरामीको चाप बढ्दै गएको अवस्थामा सेवा व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको अस्पतालका प्रमुख डा. बरालले बताए ।










