स्थानीय तथा क्षेत्रीय सरकारको बैठकमा सहभागी हुन व्यासका नगरप्रमुख थाइल्याण्ड जाँदै

दमौली । स्थानीय तथा क्षेत्रीय सरकारको बैठकमा सहभागी हुन तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने थाइल्याण्ड जाने भएका छन् ।
आगामी फेब्रुअरी २४ मा आयोजना हुने बैठकमा न्यौपानेले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । कार्यक्रममा स्थानीय र क्षेत्रीय सरकारका नेताहरूले दिगो विकासका विषयमा आफ्ना विचार र अनुभव प्रस्तुत गर्नेछन् ।
नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकाको सफलताको कथाहरू, जस्तै फोहोर व्यवस्थापन प्रणाली, आर्थिक गतिविधिको प्रवद्र्धन, र दिगो विकासका प्रयासहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने सचिवालयले जनाएको छ ।
व्यास नगरपालिकाको यो सहभागिताले नगरपालिकाको पहिचानलाई विश्व मञ्चमा प्रवद्र्धन गर्दै दिगो विकासका लक्ष्यहरूमा स्थानीय सरकारको भूमिकालाई बलियो बनाउने सचिवालयले दावी गरेको छ ।










