शिःसाघाटका दुरा जाति र कालिकाको मन्दिर
देव बस्न्यात

विषय प्रवेश
शिःसाघाट (साँझाटार) माथिल्लो साँझा र तल्लो साँझा गाउँको बेसी भूभाग हो । नेपालमा औल नियन्त्रण नहुँदासम्म शिःसाघाटो बस्ती हराभरा भएको थिएन । नेपाल सरकारले औल नियन्त्रण गरेपछि नै बेसीका बस्तिहरु क्रमस गुल्जार हुन पुगेका हुन् ।
गाउँबाट बेसी झर्ने र बाहिरबाट बसाइ सर्नेहरुको चाप बढन थाले थापछि शिःसाघाट दु्रतगतिमा गुल्जार हुन पुगेको हो । बसाइसरी आउनेहरुको क्रम निरन्तर बढदै गयो । थप्रेक, तल्लोसाँजा, उपल्लोसाँजा, चोयाबिसौना, श्याम्घा, कास्की र लमजुङ जिल्लाका छिमेकी गाउँहरुबाट समेत शिःसाघाट आवाद हुँदै गयो ।
तल्लो माथिल्लो साझा बसोबास गर्ने प्रमुख जातिहरुमा नागिला, चदौंला, घिमिरे, छिमाल, ढौनियाहरु, साझा हटियाबाट नेवारहरु, थप्रेकको चितिश्वाँराबाट ठकुरीहरु, गोरखाबाट पन्थहरु, थप्रेकको टुसाल गाउँबाट मियाँहरु, लमजुङको तुर्लुङकोट र कुन्छाबाट दुराहरु, गुँदीबाट पन्तहरु र कास्कीको पोल्याङबाट खत्रीहरु शिःसाघाटमा आएर शिःसाघाट बजार र शेषटारको गुल्जार गरेका हुन ।
जसरी गुरुङ जातिमा लामा, लामिछाने, घले, घोदाने चार जात र १६ थरे हुने गर्दछ । त्यसै गरी दुराहरुमा पनि पाचे धिङ्गल, दोर्दे, पुइ र क्याउसा समेत पाँच जातहरु हुने गर्दछन् । पाँचे, धिङ्गल र दोर्देबीच कुटुम्व्यारीका कारण बिहेबारी नचल्ने हुँदा पुइ र क्याउसाको छोरीवेटी संग कुटुम्व्यारी चलाउने र पुइ र क्याउसाहरुले पाँचे, धिङ्गल र दोर्देको छोरीचेली संग बिहेबारी गरी कुटुम्वेरीजोन गर्दछन् ।
को हुन दुरा जाति ?
दुरा जाति कहाँबाट नेपालमा पाँजिएका हुन् यो विषय अझै पनि अनुसन्धेय नै छ । दुराहरुको वंशावली अनुसार दुराका पूर्वजहरु रुद्राभोटबाट नेपालको यत्रतत्र पाँजिएका हुन भन्ने गरिन्छ । रुद्राभोटबाट आएका वासिन्दा हुनाले रुद्रा जाति र त्यही रुद्रा शव्द अपभ्रँस भई रुदरा भएको र कालन्तरमा रुदराको आदि अक्षर रु लोप भइ दुरा जाति भएको मानिन्छ ।
रुद्राभोटबाट नेपालको दुल्लु आइ बसोबास गरेका हुनाले दुराहरुको पूर्वजहरुलाई दुलाल वंशी पनि भन्ने गर्दछन् । दुराका पूर्वज लम्बाबाहु दुलाल श्री उचैनगिरी धौलागिरी मलदेश छयणीगढबाट आएका पूर्वजहरु सताल दुलाल र खगे दुलाल त्यहाँ देखि जाजरकोट आएर केही समय बसोबास गरेका थिए रे । केही समयको बसोबास पछि उनीहरु त्यहाँबाट रुकुम बसाइ गएका र रुकुमबाट खुरानकोट आइबसेका हुन भनिन्छ ।
त्यहाँको केही समयको बसाइ पछि उनीहरु मध्ये बुधिराम दुरा र माघै दुरा कास्कीको अर्घौमा आइबसेका हुन । त्यहाँ पनि उनीहरुको बसाइमा स्थिरता आएन । त्यस पछि लमजुङ तर्फको मादीको घाटमा आइपुग्दा चामु धिमाल, सुकराज क्याउछासँग भेट हुन पुगेछ । सबैको आपसी सल्लाहा अनुसार दुराहरु लमजुङको दुर्लुङकोट तिरै स्थायी बसोबास गर्न पुगेछन् ।
दुराहरु मङ्गोल समुदायमा पर्दछन । अन्य जात जाति भन्दा दुराहरुको गुरुङ संग घनिष्ट सम्वन्ध रहेको छ । एक पटक घले राजाले कोटको मौलामा पूजा गर्न लगाएछन रे । मौलोमा पूजा गरी सके पछि सुङ्गुरको बलि दिन पर्ने भएछ । गुरुङका चारजाते मध्ये कुनै गुरुङले पनि सुंगुरको बलि दिन मानेनछन् । सोह्र जाते मध्येको आँटिलो एकजना कान्छो गुरुङले सुङ्गुरलाई मार हानेर बलि चढाएछ ।
कान्छा छोराले सुङ्गुर छोएको हुनाले सबै दाजुभाइले दुर दुर जा भनेकोले दुरा थर कायम भएको हो भन्ने किम्वदन्ती रहेको छ । हुन त गुरुङ र दुरा दुबै मङ्गोलियन समुदायका भएको र प्राय एउटै भूगोलमा बस्ने जाति भएकोले बाहुनका उपाध्याय र जैसी, क्षत्रीको झर्राक्षत्री र खत्री भने झैं गुरुङका दोश्रो दर्जाका गुरुङहरुलाई दोश्रा गुरुङ, दुसरा भन्दा भन्दै शव्द अपभ्रम्श भइ दुरा भनिएको हुन सक्दछ । कालन्तरमा त्यही दुरजा शब्द र दुसरा शब्द हिन्दी भाषाको तत्सम शब्द भएकोले यो तर्क सही हो भन्न सकिएन ।
एउटा समय त्यस्तै थियो । प्राय मानिसहरु राजा तथा भारदारका दरवारमा सेवक भई काम गर्दथे । त्यसमा पनि दुराहरु हिन्दु राजाका दरवार कामकाज गर्दथे । अचानक भारतवर्षबाट हिन्दु अधिराज्यहरुमा मुसलमानहरुले आक्रमण गरिदिए । मुसलमानहरुले आक्रमण गरिदिंदा हिन्दु राजाहरुले वीरगति प्राप्त गरेका थिए । मुस्लिमहरुको अन्याय र अत्यचारबाट बच्न हिन्दु रानीहरु आफ्ना सेवकहरुसंगसंगै जीवन सुरक्षार्थ मैदानको बसाइ त्यागेर पहाड प्रवेश गरेका थिए रे ।
भाग्दै जाने क्रममा उनीहरु दरवारबाट टाढा अति टाढा अर्थात दुर दराजमा गए होलान । दुर दराजमा गएर तिनै सेवकहरुसँगको यौन सहवासबाट रानीहरुले सन्तान उत्पादन गरेको विश्वास गरिन्छ । आफैले जन्माएका सन्तानहरुलाई रानीहरुले दुर जा भनेकाले र दुर (टाढा) बसेका पुत्रहरुलाई कालन्तरमा दुरा भनिएको हुनु पर्दछ ।
दुरा शब्दको उत्पति कसरी भयो भन्ने विषयमा ठोस प्रमाण भने पाउन सकिएको छैन । जनश्रुति र किंवदन्ती अनुसार भनिएका सबै सत्य हुन्छन भन्ने पनि छैन । शाह, सेन, राणा, ब्राहृमण र क्षत्रीयहरु समेतले ठूला जाति भनिने रहरमा धेरैले आफ्नो पुख्र्यौली थर भारतमा जोड्न पुग्दा आफ्नो अस्मिता लुटिएको थाहा नै पाएनन् ।
लमजुङमा शाही राज्य स्थापनामा दुराहरुको भूमिका
नवआगन्तुक दुरामाथि घलेहरुको अत्याचारिता बढदै गयो । लमजुङका प्रजाले घलेराजा माथि शाही राजा थापौं भनी सल्लाह गरेछन् । राक्स्या राजासंग बेमेल राख्ने कुसमाखर घिमिरे, खगेदुरा र नारानदुरा लगायतका भलाआदमी मिली कास्कीका राज कुलमण्डन शाहको छोरा कालुशाहलाई मागी शाही राज चलाएछन् । सिकार खेल्न जाने निम पारी राक्स्या राजाका सिपाही बाह्रजुम घलेले नारान दुरा र कालु शाहलाई सिसि.ढुङ्गामा कुलगरी मारी दिएछन् ।
नारान दुराको छोरा लक्ष्मण दुरा र कुसमाखर दुराले कसम खाइ घले राजालाई बालुवा बेसीमा बोलाई मारेर द्रव्य शाहलाई कुस्माखर घिमिरे, लछिमन (लक्ष्मण) दुरा, नारान दुरा, माघे दुरा, सुकम्वर क्याप्सा, चामु धिताल र अधिकारी समेतको टोलीको प्रत्यक्ष सहयोगमा खगे दुराले द्रव्य शाहलाई चाँदीकोबाजीमा बोकेर बर्धनडाँडा निस्की मनाङ (थुम्काको मैदान) निभुङताल, रातमाटे डाँडाको ठूलोढुङ्गा (सिंदुरे ढुङ्गा)मा द्रव्यशाहलाई बसाली शाही राजा स्थापना गरेका हुन ।
लमजुङको दुर्लुङकोटमा सिंदुर जात्रा गरी राजा स्थापना गरिएकोले त्यो ठूलो ढुङ्गालाई त्यही बेलादेखि आजसम्म सिंदुरे ढुङ्गा भन्ने गरिएको हो । त्यही बेलादेखि दुर्लुङकोटमा शक्तिको आरध्यदेवी कालीको पूजाआजा सुरु हुन गएको हो । नेपाली व्याकरण अनुसार एउटै वर्गका अक्षर एक अर्कोमा रुपान्तरित हुन सक्ने नियम अनुसार त वर्गको द अक्षर त अक्षरमा रुपान्तरित भई दुर्लुङकोट शव्द अपभ्रंश भई तुर्लुङकोट हुन पुगेको हो भनिन्छ ।
तनहुँमा कसरी आइपुगे दुराहरु ?
आजभन्दा लगभग ६०० वर्ष पहिला लमजुङ दुराडाँडामा दुराहरुको राजगज चलेको थियो । शाही राजा स्थापना गर्नमा दुराहरुको महत्वपूर्ण भूमिका रहेको थियो । लमजुङ नरुवालका एक जना तुल बहादुर सार्की लाउरेहरुको भरिया लिएर कहिले तनहूँ र कहिले लमजुङ आउने जाने गरिरहन्थे रे । तनहुँ आउने जाने क्रममा तनहुँको रामथुम्कीमा बस्न योग्य जमिन देखेर बसाइ र्सन जुरमुराएका दुराहरुसँग भलाकुसरी गरे रे ।
सबैको सल्लाह अनुसार तनहुँसुरमा जन्ति आउँदा रामथुम्कीको जग्गा हेर्ने विचार गरे रे । तनहुँसुरमा जन्ति आएको बखत वरपरको बस्तुस्थिति बुझ्दै हिंडेका दुराहरुले तनहुँसुरको दक्षिण पाटो रामथुम्की तिरको जङ्गल चाहार्न पनि पुगेछन् रे । जङ्गल भित्र राम्रा राम्रा पाटा परेका गह्राहरु देख्दा बस्ती बसाउन उपयुक्त छ भन्ने मनमनै सोच गरे रे ।
बेहुली लिएर तुर्लुङकोट पुगेका तिनै दाजुभाइले भाइवृन्दालासँग तुर्लुङकोटबाट तनहुँ तर्फ बसाइ सर्ने विषयमा छलफल नै चलाए रे । तनहुँसुरको काखैमा रहेको रामथुम्कीमा वि.सं. १८३४ तिर औल लाग्नाले यहाँको मगरबस्ती मानव विहिन हुन गएको थियो । मानव विहिन रामथुम्की बिस्तारै घनाजंगलमा परिणत हुन पुगेको थियो ।
यही घना जंगलमा हेर्न आएका दुराहरुलाई यस क्षेत्रमा आवाद गरी बस्न मन लागेकाले यसै मौजका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइका बाजे परबाजेहरु यहाँका जिम्मावाल मुखिया भएकाले वनफंडानी गरी बसोबास गर्नलाई हुन्छ हुँदैन भनि सोधनी हुँदा स्वीकृति भएकाले रामथुम्की क्षेत्रले पुनः आवाद हुने मौका पाएको हो ।
वि.सं. २०२० साल तिर रणबहादुर दुरा, कुलबहादुर दुरा, पदमबहादुर दुरा समेतका ७/८ घर दुरा र तुले सार्कीको परिवारहरु हालको व्यास नगरपालिका वडा नं. ११ रामथुम्कीको वनजंगल फंडानी गरेर दुराहरु खनियाचौर, घिमिरे र न्यौपाने बाहुनहरु ब्ााहुन डाडामा, कुमालहरु कुमालटारी तातोपानीम र कर्लुङका रुचालसार्कीहरुले रामथुम्कीको जग्गा आवाद गरी बसेका हुन भनिन्छ । अहिले यस रामथुम्कीमा लगभग ५० घरधुरी दुराहरु बसोबास गदै आइरहेका छन् ।
रामथुम्की झरेका दुराहरुले तुर्लुङकोट जान टाढा भएको महसुस गरी रामथुम्कीमै कालीको मन्दिर निर्माण गर्ने सोच बनाए । काली मन्दिरको स्थापनार्थ आवश्यक पर्ने दियो, माटो, ध्वजा र अन्य आवश्यक पर्ने सामग्रीहरु तुर्लुङकोटबाटै रामथुम्कीमा ल्याएर स्थापना गरेका हुन् । अहिले चौथो पुस्ताका दुरा दाजुभाईहरु रामथुम्कीमै बनाइएको कालिका मन्दिरमा पूजाआजा गर्दै आएका छन् ।
वि.सं. २०२० साल पूर्व नै कुन्छा निवासी दुराहरु हालको व्यास-११ राम्चे, लामीडाँडा (अंधेरी भञ्ज्याङ) र चिसापानीमा आइ बसोबास गरेका थिए । यसरी बसाइसरेका दुराहरुमा पुइ थरका दुराले मगर राना र धिङाल थरका दुराहरुले मगर थरमा आफुलाई रुपान्तरित गरी सकेका छन् । यस क्षेत्रमा हाल १५/२० घर दुराहरु रहेको पाउँदछौं ।
हालको व्यास-९ क्यामिन चिसापानी, कात्तिकेचौर मुनी ६ घर र क्यामिन धरम्पानीमामा ७ घर दुराहरु रहेका थिए । क्यामिनमा बसोबास गर्ने दुराहरु सोही गाउँको बेसी सत्रसयफाँटमा बस्दै आएका छन् । यसै गरी व्यास-१ भादगाउँ (व्रिटिस वेलफेयर नजिक) बस्ने गोकुल बहादुर दुराले पनि दुरा थर त्यागि सकेको पाइयो । यसरी दुराहरुले आफ्नो पैतृक दुरा थर त्याग्दै मगर र गुरुङ थर लेखाउँदा दुरा जातिको जनसंख्या दिन प्रतिदिन घटदै गएको पाउँदछौं ।
बि.सं. २०२२ सालमा लमजुङ जिल्लाको तुर्ङकोटबाट शिःसाघाट कर्मक्षेत्र बनाउने अग्रज दुराहरुमा सन्तबहादुर दुरा, जीतबहादुर दुरा र उमानसिंह दुराहरु हुनुहुन्थ्यो । बिस्तारै अरु दुरा दाजुभाइहरु पनि तुर्ङकोटबाट शिःसाघाटमा बसाइ सरी आएका हुन् । अहिले शिःसाघाटमा दुराहरुको लगभग ५० घरधुरी पुगिसकेको छ । अन्ततः व्यास नगरपालिकाको राम्चे, लामीडाडा, चिसापानी, क्यामिन, भादगाउँ, रामथुम्की र शिःसाघाटमा दुराहरुको आवादी रहेको पाउँदछौं ।
दुराहरुको शारीरिक बनोट, पोषाक र मातृभाषा
होचो कद, थेप्चो नाक, ठूलोपिठ्युँ, सानोटाउको, चेप्टोढाड बाटिएका पिंडौला, ठूलोहाड, पुरुषहरुमा दाह्री जुँगा कमै देखिने खालका शान्त स्वाभाव दुराहरुको स्वभाव देखिन्छ । पुरुष दुराहरु कालो टोपि, भोटो, इष्टकोट, बाला, जन्तर, कछाड र जुत्ता लगाउँछन भने महिलाहरुले चोली, घलेक मजेत्रो, टिकेस, पटुका, पोते, चुरी, फूली, बुलाकी, कण्ठबाला, ढुङ्ग्री जन्तर, गुन्यु र जुत्ताचप्पल लगाउँछन् । (श्रोत-लोपोन्मुख दुरा जातिको संस्कृति(तुलसी प्रकाश) दुराकुरा भोट बर्मेली भाषा अन्तर्गत पर्दछ । दुराहरुको मातृभाषालाई दुरा कुरा भनिन्छ । क्रमिक रुपमा दुराहरु नेपाली भाषालाई आफ्नो मातृभाषाको रुपमा प्रयोग गर्न थालेकाले दुरा कुरा लोप हुँदैछ ।
दुराहरुको चाडपर्व
दुराहरु स्वभावैलै सिकारी जाति हुन । अहिले उनीहरु कृषि तथा व्यापार व्यवसायमा पनि संलग्न छन । मुगल वादशाहहरुको दरवारमा कामकाज गर्ने दुराहरु प्रथम तथा दोश्रो विश्व युद्धमा अंग्रेज सेनाबाट लडाइ लडेका थिए । वास्तवमा दुराहरु सुर र वीर पनि छन् । शक्तिको श्रोतमा कालिकाको आरधना गर्ने दुराहरु हिन्दुजातिहरुले मनाउने सम्पूर्ण चाडवाड मनाउँछन् ।
दुराहरुको अन्त्यकृया भने बोन परम्परा अनुसार नै हुने गर्दछ । दुराहरु वोन धर्मका हिमायती भएकाले प्रकृतिको उपासना गर्दछन् । उनीहरु वैशाख पूर्णिमाको दिन चण्डी पूजा, बैशाख महिनाको कुनै शनिवार शनिश्चरे पूजा, फागुनमा भयेंर (सिमेभूमे) देवता, कात्तिक अष्टमीमा उधौली र चैत्राष्टमीका दिन उभौंली पूजा गर्दछन् ।
दुराहरुको इष्टदेवी कालीको पूजाआरधना
कास्कीका राजकुमार द्रव्य शाहलाई कास्कीबाट लमजुङ लगि पहिलो पटक तुर्ङकोटमा खजेदुराले शाही राजा स्थापना गरेका थिए । शाही राजा स्थापना गरेपछि शाह र दुराहरुले तुर्ङकोट कालीलाई इष्टदेवी मानेर पूजाआजा गर्दै आइरहेका थिए । शिःसाघाट झरेका दुराहरु तुर्लुङकोट जान टाढा भएको महसुस गरे । नजिकको पाइ बनाउन शिःसाघाटमै कालीको मन्दिर निर्माण गर्ने सोच बनाए ।
काली मन्दिरको स्थापनार्थ आवश्यक पर्ने दियो, माटो र ध्वजा ल्याउने निर्णय गरी केही भाईबन्धुहरु तुर्लुङकोट गई काली मन्दिरको स्थापनार्थ आवश्यक पर्ने सामग्रीहरु समेत शिःसाघाटमा ल्याएर कालिका स्थापना गरेका हुन् । हरेक चैंतेदशैंमा शिःसाघाटको कालीे मन्दिरमा पञ्चबलि दिने परम्परा रहेको छ । हरेक शिःसाघाटवासीहरुले माता कालीको हृदय खोलेर पूजामा सहभागी हुने गर्दछन् ।
यहाँ कालीको मन्दिरसंगै भैरवको मुर्ती पनि रहेको छ । हरेक चैते दशैंमा शिःसाघाटमा चैते दशैं मेला लाग्ने गर्दछ । मेलामा दुराहरुको आफ्नै मौलिक ठाडो भाकामा दोहरीगीत प्रतियोगिता हुने गर्दछ । हरेक वर्ष दोहोरी गीतका साथैसाथै ठेलो हान्ने, तारो हान्ने, डोरी तान्ने, घैंटो फुटाउने भलिवल र फूटबल खेलहरुको पनि आयोजना गर्दछन्।
ठाडोभाका गीतका सर्जकहरु
गिठा भ्याकुर खाएर शिःसाघाट गुल्जार गर्ने तिनै दुराहरु ठाडोभाका गीतका पारखीहरु हुन । यसैले ठाडोभाका गीतको अर्को पर्यायवाची नाम दुराभाका पनि हो । उभिएर नाचेर गाउने गीत भएकाले यस गीतलाई ठाडो भाका भनिएको हो भन्ने गरेको सुन्नमा पाइन्छ । लमजुङको कर्पुटार र तनहुँको मानेचौका नजिकको पुतलीबजार ठाडोभाकाका सर्जकहरुले हरेक मेला र जात्रामा गीत गाएर मन्त्रमुग्ध बनाउँथे र बनाउँदै छन् ।
देउबहादुर दुरा, मनिराम दुरा, भक्ति दुरीनी, पुतली विश्वकर्मा, देवीबहादुर गुरुङ, भेंडीखर्केसाइला उर्फ दीर्घराज अधिकारी र पञ्चसुवा गुरुङ, ठाडो भाका गीतका महारथीहरु हुन । शिःसाघाट बसाइ सरेका तिनै दुराहरुका सन्तान दरसन्तानले आफ्नो इष्टदेवी तुर्लुङकोट कालीको बलि रहेको दियोमा शिःसाघाटबाट बालेर लगेको दियोले छोएर शिःसाघाटमा ल्याएर दियो स्थापना गरे पछि नै माता कालीको मन्दिर निर्माण गरेका हुन ।
अन्त्यमा
संस्कृतिका धनी दुरा जातिहरुको खोइखाने, देउसी-बालन खेल्ने, रोदीघर जाने, कौरा नाँच्ने, घाँटु नचाउँने मौलिक संस्कृतिहरु पर्दछन । दुराहरुको अर्को मुख्य रोजाई सैनिक सेवा पनि हो । लाहुरे हुनु उनीहरुको पैतृक सम्पती बन्न गएको छ । यसैले शिःसाघाटका दुराहरुमा ब्रिटिस, भारतीय र नेपाली सेनामा लाहुरे हुनेहरुको संख्या बढदै गयो ।
ब्रिटिस र भारतीय सेनामा लाहरे हुन जाने दुराहरुले दुरा थरको सरुामा गुरुङथर लेखाउन थाले । यहि पंक्तिमा सल बहादुर दुरा पनि पर्दछन् । उहाँ ब्रिटिसे लाहुरे हुनुहुन्छ । हाल ब्रिटिस लाहुरे भएर पेन्सन खाने शिःसाघाटमा १ जना छन भने अझै पनि दुइजना दुराहरु ब्रिटिस सैनिक सेवामा कार्यरत रहेका छन् ।
भारतीय गोर्खा राइफलमा ३० जना र नेपाली सेनामा लगभग ५० जना युवाहरु सैनिक सेवामा अझै पनि कार्यरत भेटिन्छ्न । लाहुरे हुने रहरमा दुराहरुले गुरुङ थर लेखाउँदा यसै त अल्पसंख्यामा रहेका दुराहरु लोप हुने पो हो की भन्ने डर बढदै गएको छ । तर सचेत दुराहरु आफना भाषा संस्कृति बचाउन कम्मर कसेर लागेका छन् ।










