बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा) : बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारीबाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन् ।

गल्याङ नगरपालिकाले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नटलगायतका खेतीगर्न कृषकलाई प्रोत्साहन गरेको छ । यहाँका कृषकले स्वतःस्फूर्त रूपमा उखु, सयपत्रीफूल, अदुवा, बेसार, ड्रागनफ्रुडलगायतका खेतीगर्दै आएका थिए ।

विसं २०७८ को राष्ट्रिय कृषि गणनाअनुसार गल्याङ नगरपालिकाभित्र चार हजार ४२ हेक्टर जमिन खेती योग्य छ । हाल यहाँ एक हजार पाँच सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । बाँदरले सताउन थालेपछि कृषक धान, मकै, गहुँ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् ।

गल्याङ नगरपालिका–५, रुपाखानीका कृषक चन्द्रबहादुर रानाचित्रले बाँदरले हैरानपार्न थालेपछि धान, मकै गहुँ फलाउने खेतमा कागती, उखु, सयपत्रीफूल खेती गर्दै आएको बताउनुभयो । उहाँ विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा बाँदरले नखाने काष्ठफल र अन्य खेतीगर्दै आउनुभएको छ ।

“बाउबाजेले धान, मकै, कोदो छर्ने गरेको खेती छोडेर पाँच वर्षदेखि सयपत्री र कागती खेती गर्दै आएको छु । मेरो उत्पादन देशका विभिन्न सहरमा पुग्छ, ” उहाँले भन्नुभयो, “गएको वर्षदेखि उखुसमेत लगाउन थालेको छु । परम्परागत खेतीभन्दा तेब्बर आम्दानी दिएको छ ।”

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाभित्र बाँदर आतङ्क बढेकाले कृषकलाई बाँदरले क्षति नगर्ने बालीलगाउन सुझाव दिएको बताउनुभयो । उहाँले बाँदर नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकारसमेतले ठोस योजना बनाउन नसकेको अवस्थामा गल्याङ नगरपालिकाले बाँदरले नखाने प्रजातिका काष्ठफललाई प्राथमिकता दिएको सुनाउनुभयो ।

“लामो समयसम्म उत्पादन दिने, पहाडी भेगका लागि हावापानी मिल्ने, एक पटक हुर्काइसकेपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादनलागत कम लाग्ने काष्ठफल लगाउन कृषकलाई प्रेरित गरेका छौँ,” उहाँले भन्नुभयो, “विश्वास छ काष्ठ फल खेतीले यहाँका जनतालाई आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’

यता गल्याङ नगरपालिको ‘काष्ठ फल उत्पादन’ कार्यक्रमलाई पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजना (नाफा)ले सहयोग गर्दै आएको छ । नाफा आयोजना गल्याङकी प्राविधिक समीक्षा न्यौपाने संस्थाले कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नट खेतीमा सहयोग गर्ने बताउनुभयो ।

“नर्सरिदेखि लिएर फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र उत्पादित फलफूलको मूल्य अभिवृद्धि गर्ने काममा नाफा प्रोजेक्टले सघाउने छ ।” उहाँले भन्नुभयो, “यहाँ आवेदन दिएका कृषकले २० रोपनी एक हेक्टर क्षेत्रफलमा सूचिकृत फलफूल रोप्नुपर्ने हुन्छ । सर्त पूरा भएका कृषकले पचास प्रतिशत अनुदान प्राप्त गर्न सक्ने छन् ।” न्यौपानेका अनुसार गल्याङमा यो योजना आउने पाँच वर्षसम्म चल्ने छ ।

नाफा आयोजनाले कागती, सुन्तला, एभोकार्डो, मेखाडेमिलाय खेतीका लागि किसानलाई अनुदानको व्यवस्थासमेत गरेको छ । यो आयोजना सम्पन्न गर्नका लागि एसियाली विकास बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको ऋण तथा अनुदान व्यवस्थापनमा देश भरका एक सय स्थानीय तहका लागि नौ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

आयोजना ३४ जिल्लाका एक सय वटा स्थानीय तहमा र स्याङ्जाका गल्याङ नगरपालिका, चाप कोट नगरपालिका र बिरुवा गाउँपालिकामा सञ्चालित छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker