राइनासकोट : पर्यटन, इतिहास र संस्कृति

लमजुङ गुरुङ जातिको उदगमस्थल हो । आदिम कालदेखि हिमाली भेगमा जीवनयापन गर्दै आएका गुरुङ जातीहरुको आफ्नै भेषभूषा, मौलिक कला, भाषा, संस्कार र संस्कृति छन । आजभोली लमजुङमा प्राय धेरै गाउँमा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा छन । घलेगाउँबाट सुरु भएको होमस्ष्टे अहिले पूर्वी लमजुङको ऐतिहासिक गाउँ राइनासकोट सम्म पुगेको छ । राइनासकोट गाउँमा होमस्टेमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत सत्कारले पर्यटकहरुको चहलपहल बढेको छ ।
पर्यटन भनेकै नयाँ ठाउँमा घुमफिर गर्ने, प्रकृतिमा भएका बिभिन्न सम्पदाको अवलोकन गर्ने र बिभिन्न जातीहरुको भाषा, सस्कृति एवं धार्मिक सम्पदा पर्दछन्। पर्यटनका लागि लमजुङ भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यता भएको भूगोल हो । लमजुङको राइनास नगरपालिका-९ मा पर्ने राइनासकोटमा पछिल्लो समय लालीगुराँसले पर्यटकहरुलाई आकषिर्त गरेको छ । शुक्रबार, शनिबार र बिदाका दिनमा राइनासकोटमा अन्य दिन भन्दा बढी पर्यटक पुग्ने गर्दछन । राइनासकोट प्रवेश गरेपछि पर्यटकहरुले हातहातै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क ! हुन थाल्छ । मोवाइल मात्र हैन, ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउने पर्यटकहरुको संख्या पनि कमी हुँदैन । कोही सेल्फी फोटो खिच्नमा ब्यस्त हुने गर्दछन । ब्यस्त शहरी क्षेत्रमा रहेका पर्यटकहरु जैविक विविधताले सजिएको सम्पदा देख्दानै रमाउँछन । राइनासकोट पुग्न जब पाउँदी ढिकबाट गाडी अगाडी बढछ ! नागवेली आकारको उकालो सडकबाट तनहुँ जिल्लाको चोक चिसापानी लमजुङको पाउँदी, भोटेवडार, भारते, अर्चलबोट, मोहरियाकोट, सिमपानी, गौडा लगायत रमणीय गाउँहरुको सुन्दर दृष्य देख्दा पर्यटकहरु रमाउन थाल्दछन । जब गाडी मोहोरियाकोटमा पुग्दछ चीन सरकारको लगानीमा निर्माण भएको विद्यालय भवन देख्दा पर्यटकहरु दंग पर्दछन ।

राइनासकोट गाउँमा पर्यटन प्रवर्द्धनका लागि प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयहरुले कला, संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण गरेका छन । अहिले राइनासकोटमा विभिन्न ठाउँबाट आन्तरिक पर्यटक मात्र होइन वाहृय पर्यटकहरु समेत पुग्ने गर्दछन । राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखै अगाडि बादलुको घुम्टो ओढी मुस्कुराएका हिमाल पर्यटकहरुले अवलोकन गर्न सक्दछन । अर्को तर्फ नागबेली आकारमा बगेको चेपे र मर्स्याङदीको लोभलाग्दो दृश्य, बाइसे-चौबिसे राज्यको शासन कालमा निर्माण गरिएको ऐतिहासिक किल्ला र गढी, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई समेत तीर्थाटन अवलोकन गर्न सक्दछन । पर्यटकहरुले नयाँ ठाउ घुमफिर गर्न खोज्दछन् । राइनासकोटमा पर्यटकहरुलाई आफ्ना केटाकेटीहरुसँगै स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै गाउँघरमा घुमफिर गर्दा रमाउछन्। राइनासकोटमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषि सम्वन्धी कुराकानीले धेरै ज्ञान आदान प्रदान गर्न सक्दछन् । राइनासकोटमा पुग्ने एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडी भैँसीको थुनबाट दुहेको देख्नु काठको ठेकीमा मदानीले मोथेको दहीबाट मही र नौनी उत्पादन गरेको देख्दा केटाकेटीहरुलाई नौलो अनुभूति हुन्छ । शहर बजारमा किनेर खाएका तर त्यसकोबोट कस्तो हुन्छ भन्ने थाहा नपाएका केटाकेटीहरुलाई काफल र ऐसेलुको बोट कस्तो हुदो रहेछ भन्ने कुरा समेत थाहा हुन्छ।
राइनासकोटमा ०७२ को भूकम्प पछि होमस्टे सञ्चालनका लागि १४ घर, आरोग्य भवन र सामुदायिक भवन समेत निर्माणका भएको छ । स्थानीय मौलिकता झल्कने गरी निर्माण भएको आधुनिक घरमा स्थानीयवासी र अमेरीकी नागरिक नतसा वाजनियाकको लगानी छ । विगत २१ बर्षदेखि नेपालमा रहेकी नतसाले विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग जुटाएर राइनासकोटमा भूकम्पले भत्किएका घर पुनःनिर्माणमा सहयोग गरेकी हुन । राइनासकोटमा वातावरणमैत्री अवधारणा अनुसार गोबरग्याँस, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको ब्यवस्थापनका लागि राम्रो काम भएको छ । प्रत्येक घरमा सोलार प्यानल जडान भएको छ । अर्को तर्फ राइनासकोटका प्रत्येक घरहरुमा पिंढी, फलैंचा, आकासे पानीको ब्यवस्थापनका लागि ट्याङक जडान, सडक बत्ती जडान समेत भएको छ। राइनासकोटमा रहेका केही पुरानाघरहरु भने पौराणीक महत्व झल्काउन पुरानै स्वरुपमा सुरक्षित राखेका छन । गुरुङ जातीको वस्ती रहेको राइनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन गाउँको बिचमा रहेको गोलघर अर्थात घुमाउने घरमा संग्राहलय स्थापना भएको छ । सँग्रहालयमा गुरुङ समुदायको प्रचलनमा भएका सामग्रीहरु राखिएका छन् । त्यस्तै बिनासकारी भूकम्पलाई सम्झना गर्दै स्मारक समेत निर्माण भएको छ ।

पर्यटनको पुर्वाधार थपिदै गएपछि राइनासकोट धेरै पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । प्रकृति र सस्कृतिसंग रमाउन खोज्ने पर्यटकहरु आफ्नो घुमफिरको प्याकेजनै बनाएर आजभोली राइनासकोट पुग्दछन । घुमफिर गर्दा पर्यटकहरुले एउटा गाउँबाट अर्को गाउँको पनि अवलोकन गर्न सक्दछन्। गाउँमा होमस्टेको बासमा पाइने अर्गानिक परिकार, न्यानो आतिथ्यता, स्थानीय संस्कृति, प्राकृतिक मनोरम दृष्यले पर्यटकहरु रमाउछन् । पर्यटकहरुले प्राकृतिक सम्पदा, इतिहास र सस्कृतिका बारेमा अध्ययन अवलोकन गर्न सक्दछन । पर्यटकहरुलाई राइनासकोटमा पुग्दा खाना बस्नको लागि असुबिधा हुदैन । राइनासकोटमा पुग्ने पर्यटकहरु गुरुङ जातीको जीवनशैली, कला, संस्कृति र गाउँबाटनै देखिने हिम श्रृखलाले पर्यटकहरु लोभिन्छन् । शान्त वातावरण र दर्जनौँ मनोरम हिमश्रृखलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा पर्यटकहरुले शब्दमा बर्णन गर्नै नसक्ने अनुभव र अनुभूती गर्दछन ।
राइनासकोट होमस्टेमा बस्ने पर्यटकहरुलाई स्थानीय खसी र कुखुराको मासुसहित गाउँमा नै उत्पादित आर्गानिक तरकारी तथा अन्नका परिकार खुवाउने गरिन्छ । होमस्टेमा बस्ने पर्यटकहरुले कोदाको सेलरोटी मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद लिन समेत सक्दछन । पर्यटकको इच्छा भएमा स्थानीयरुपमा कोदोबाट तयार गरिएको मदिराको पनि स्वाद लिन पाउँछन् । होमस्टेमा पर्यटकहरुका लागि गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाटु, कृष्ण चरित्रलगायत नृत्य पनि प्रस्तुत गरिन्छ । होमस्टेमा बस्ने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । प्याकेज अनुसार पर्यटकले होमसटेमा पुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । राइनासकोटको प्योकज अन्तर्गत होमस्टेबाट प्राप्त हुने रुकम मध्य ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा जम्मा हुन्छ ।

लमजुङको राइनास नगरपालिकामा पर्ने राइनासकोट नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ । समुन्द्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । नेपाल राष्ट्रको एकीकरणसँग जोडिएको लमजुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण राइनासकोटलाई रणनीतिक कोटको रुपमा समेत लिने गरिन्छ । राइनासकोट पुगेपछि पर्यटकहरुले नेपालका बाइसे-चौबिसे राजाको पालामा निर्माण भएका ऐतिहासिक किल्ला मात्र नभएर कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थलहरुमा पुगने गर्दछन। राइनासकोटमा नेपालको एकीकरणको शुरुवात गर्ने राजा द्रब्य शाहले धेरै वर्षबिताएको ठाउँ हो । जुनकुरा राइनासकोटका गढी, किल्ला, कोटले प्रमाणित गरिदिएको छ । गोरखग्रन्थमा उल्लेख भएअनुसार गुरु गोरखनाथले तत्कालिन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा प्रकट भएर आर्शिबाद दिएका थिए । पर्यटनका लागि राइनासकोटमा चौवन ऋषीको तपोभुमी, देउथलको युद्धमा अंग्रेजले हानेको गोली लागेर ढल्नै खोज्दापनि आफ्नो हातमा रहेको तरबारले १७ जना अंग्रेजलाई ढलाएका बीर भक्तिथापाको शालीक पनि राइनासकोटमा निर्माण गरिएको छ। अर्को तर्फपर्यटनका लागि बीर भक्ति थापासँग जोडिएको गाउँ लगायतका ऐतिहाँसीक महत्व कुरा राइनासकोटमा धेरै रहेका छन ।
शाह वंशीय पहिलो राजा कुलमण्डन शाहका कान्छा छोरा यशोब्रहृम शाहद्वारा स्थापित लमजुङको राज्य पछि उनका छोराहरु नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट-लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए । राइनासकोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भई नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि राइनासकोटलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ । त्यही रणनीति अनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए । मगरहरुसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा गएर आर्शिवाद दिएका थिए । गोरखनाथको आशिर्वादसँगै द्रब्य शाहको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ। अर्को तर्फपृथ्वीनारायण शाहले पनि नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ । गुरु गोरखनाथको निर्देशन अनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको इतिहास छ ।
राइनासकोटबाट हिमालको लामो लर्कन अवलोकन गर्न सकिन्छ। पर्यटकहरुले बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक टवान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ हिमाल लगायत १८ वटा हिमश्रृंखलाहरु अवलोकन गर्न सक्दछन । राइनासकोट मुन्तिर सुन्दर गुरुङ गाउँ छ । ढुंगा छापिएको आँगन, चिरिच्याँट्ट गाउँ, आमा समूहको आतिथ्यता होमस्टको सुविधा छ। धेरै पर्यटकहरु आकषिर्त हुने गर्दछन । राइनासकोटमा प्याराग्लाईडिङको पनि परिक्षण भएको छ । प्याराग्लाईडिङका लागि राइनासकोट उपयुक्त स्थान मानिएको छ । कोट भन्दा तलको भागमा सामुहिक चियाखेती अलैंची खेती समेत छ । यसले राइनासकोट जाने पर्यटकहरुलाई थप आकर्षण गराउछ । पर्यटकले राइनासकोटमा गुरुङ समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलनको समेत अध्यन गर्न सक्दछन । कतिपय पर्यटकहरु राइनासकोट पुदा पूर्वी लमजुङको गौडा हुँदै इलम पोखरी समेत पुग्ने गर्दछन।
इतिहासमा रुचि राख्ने पर्यटकहरु राइनासकोट पुगेको बेला समय भयो भने गोरखाको लिगलिगकोट पनि पुग्न सक्दछन। राइनासकोट देखि लिगलिगकोट सम्म पुग्नको लागि मध्यपहाडी लोकमार्गको यात्रा गर्नू पर्दछ । राइनासकोटबाट राइनासटार हुँदै चेपे नदी पार गरेपछि गोरखा जिल्ला सुरुहुन्छ । लिगलिगकोट जादा पर्यटकहरुले नरहरि शाह र द्रब्य शाहको झगडा मिलाउन उनका आमाले चेपेमा दुधको धारा बगाउको ठाउँ समेत देख्न सकिन्छ। चेपे नदी तरेपछि ठाटी पोखरीबाट उकालो यात्रामा लिगलिगकोट पुगिन्छ। लिगलिगकोट गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नम्बर २ मा पर्दछ । लिगलिगकोट पर्यटन र इतिहासको लागि पुग्नै पर्ने ठाउँ हो। प्रकृतिसंग रमाउने र इतिहासको बारेमा रुचि राख्ने पर्यटकहरुका लागि लिलिगकोट घुमफिर गर्दा धेरै कुराको अध्यन हुन्छ ।
लिगलिगकोट समुन्द्री सतहबाट करिब १ हजार ४३७ मिटर उचाईमा रहेको छ । लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ । प्राकृतिकरुपमा पनि अति नै मनोरम छ । आधुनिक नेपालको इतिहासका महत्वपूर्ण कार्यक्रमहरु लिगलिगकोटबाट सुरु भएको थियो । नेपालमा व्यवस्थित रुपमा सैनिक स्थापना, हिन्दुराज्यको स्थापना, एकीकरणको सुरुवात लिगलिगकोट बाटनै भएको हो । नेपाली सेनाको सुरुवात द्रव्य शाहले लिगलिगकोटबाट गरेका हुन् । संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको अभ्यास पनि लिगलिगकोटमै भएको थियो । अमेरिकामा सन् १७७९ मा मात्रै प्रजातन्त्रको अभ्यास भएको थियो भने गोरखाको लिगलिगकोटमा १५४६ मै लोकतन्त्रको अभ्यास भएको थियो । यतिमात्र नभई गणतन्त्रको पहिलो अभ्यास पनि लिगलिगकोटमै भएको थियो ।
पर्यटकहरु लिगलिगकोटको चुलीमा पुगेपछि देखिने दृश्य अत्यन्तै मनमोहक मानिन्छ । लिगलिगकोटको चुलीबाट चारैतिरको मनोरम दृश्य हेर्न सकिन्छ । लामो इतिहास बोकेको नेपाल एकीकरणको उदगमस्थल सिगो नेपाल र गोरखाको इतिहास झल्काउने एक मात्र ठाउँ हो लिगलिगकोट । लिगलिगकोटबाट गोरखा दरबार, धार्मिक महत्वको प्रसिद्ध मनकामना मन्दिर, छिम्केश्वरी मन्दिर, पालुङटारफाँट, दरौँदीफाँट, राइनासकोफाँट, चेपे र मर्स्याङदी नदीका साथै विभिन्न हिमश्रृंखला तथा सूर्योदय र सूर्यास्तको अवलोकन पनि पर्यटकहरुले गर्न सक्दछन् । लिगलिगकोटमा द्रव्य शाहको दरवार रहेको स्थान भग्नावशेषको रुपमा देख्न सकिन्छ। लिगलिगकोटमा पर्यटकहरुले कोट आसपासमा भग्नावशेष रुपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका स-साना देवीदेवताका मन्दिर पनि अवलोकन गर्न सक्दछन्।
राइनासकोट कसरी पुग्ने –
राइनासकोट पुग्न पृथ्वीराजमार्गको डुम्रे-बेशिसहर मार्गको ३० कि.मि.मा पर्दछ पाउँदीको ढिक । त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै मर्स्याङदी नदी तरेपछि राइनासकोट प्रबेशद्वार मार्गमा पुगिन्छ। त्यसपछि नागवेली आकारका सुन्दर डाडाकाडाको घुम्ती पार गर्दै १२ कि.मिको यात्रामा राइनासकोट पुगिन्छ।










