बन्दीपुर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार गरिदै

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा संचालित बन्दीपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई मजबुद बनाउनका लागि बिभिन्न स्वास्थ्य सेवाहरु थप गर्दै लगिएको छ । अस्पतालमा यही आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु गरिने भएको छ ।
अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि भिडियो एक्सरे सेवा प्रदान गर्ने जनाएको छ । बन्दीपुर अस्पतालमा नयाँ स्वास्थ्य सेवा सुरु भएपछि स्थानीय बासिन्दाले नजिकै नै सहज र गुणस्तरीय उपचार सेवा पाउन थालेका छन् ।
बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार अस्पतालमा भिडियो एक्सरे सेवा अन्य दिनहरूमा पनि उपलब्ध हुने भएतापनि बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै विशेष रूपमा हप्ताको दुई दिन नियमित सञ्चालनमा ल्याइएको हो ।
उनले भने, “बिरामीहरूको आवश्यकतालाई ध्यान दिँदै हामी सेवा सुविधा विस्तार गर्दै आएका छौं। आगामी दिनमा अझ प्रभावकारी रूपमा अस्पतालको सेवा सञ्चालन गर्दै जाने हाम्रो योजना छ ।”
यस्तै, अस्पतालमा वैशाख २४ गतेदेखि सुगर (मधुमेह) का बिरामीका लागि तीन महिनामा एक पटक गरिने परीक्षण सेवा पनि सुरु गरिएको छ। यस सेवाबाट मधुमेहका बिरामीहरूलाई आफ्नो स्वास्थ्य बारे जानकारी लिन सहज हुने छ ।
अस्पतालका मेसु डा. गिरीले अस्पतालको नेतृत्व समहालेपछि यहाँ ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ । शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइएको छ । जसले स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुगेको छ। यसअघि विभिन्न अस्पतालमा कार्यरत रहँदा त्यहाँका अस्पताल सुधारमा उनले प्रशंसा कमाएका थिए ।
बन्दीपुर अस्पतालमा नियमित ओपिडि सेवा, एक्सरे भिडियो एक्सरे, ल्याव सेवा, दन्त चिकित्सा विभागबाट दाँतको सफाइ, दाँत भर्ने, जरा देखिको उपचार, नक्कली दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धि समस्याहरुको नयाँ प्रविधिबाट उपचार लगायत आँखाको उपचार सेवा सहित गाउँपालिकाको बिभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुँदै आइरहेको छ ।
बि.स. २०२२ सालमा १५ श्यया क्षमता सहित स्थापना भएको बन्दीपुर अष्पतालमा हाल ४ जना डाक्टरले सेवा प्रवाह गरिरहेका छन् ।