बन्दिपुरका शिक्षकलाई अतिरिक्त शिक्षक पेशागत विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरका कक्षा २ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि अतिरिक्त शिक्षक पेशागत विकास तालिम सञ्चालन गरिएको छ । बन्दिपुर गाउँपालिकाले शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्य र जाईका आईमिन परियोजनाको सहयोगमा उक्त तालिम सञ्चालन गरेको हो ।
एकीकृत पाठ्यक्रम अनुरुप कक्षा २ मा गणित विषय शिक्षण गर्ने शिक्षकको गणित शिक्षण सम्बन्धी ज्ञान तथा सिप विकास गर्ने र विद्यालयमा आधारित शिक्षक पेसागत तालिमको एउटा अङ्गको रुपमा शिक्षण सिकाइ सुधारका लागि सहकार्यात्मक उपाय ‘पाठ अध्ययन’ को सुरुवात गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।
पाँच दिने तालिमको आइतबार समापन गर्दै बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले सामुदायिक विद्यालयका शिक्षकका लागि यस प्रकारका तालिमले शैक्षिक गुणस्तर बृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले सिकेको ज्ञान तथा सिपलाई कक्षाकोठामा उर्तान आग्रह गर्दै शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्द लाल शर्माले यस प्रकारको तालिमले शिक्षकको पेसागत विकासमा टेवा पुर्याउने बताउँदै सिकेका विषयबस्तुलाई तालिमहलमा मात्र सिक्ने तर कक्षाकोठामा प्रयोग नगर्ने परिपाटिलाई मेट्दै कक्षाकोठामा अधिकतम प्रयोगमा ल्याउन आग्रह गरे । गाउँपालिकाले शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा राखेको हुँदा सबै सरोकारवालाहरुले योजनाबद्ध रुपमा संचालन हुने क्रियाकलापमा सहयोग गर्न उनले आव्हान समेत गरे ।
जाईका आइमिन परियोजनाका तोमोमी नाकावले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाईसँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने साथै प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने बताए ।
त्यस्तै शिक्षा विकास तथा समन्वयर् इकाइका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीलेे यस तालिमबाट विद्यालय स्तरीय शिक्षक पेसागत विकास तथा सहयोगलाई सहकार्यात्मक उपागम जसलाई पाठ अध्ययनलाई जोड दिएकाले विद्यार्थीको सिकाईमा शिक्षकहरु विचको अन्तरक्रिया, प्राविधिक गोष्ठी, विज्ञ शिक्षकको सहयोगको माध्ययमबाट विद्यार्थीमा देखिएका शैक्षिक समस्यालाई छलफलका माध्ययमबाट सुधार गर्न सकिनेमा जोड दिए ।
अबको शिक्षामा शिक्षकले शिक्षण मात्र गर्नै नभइ सहजीकरणका माध्ययमबाट बालबालिकामा सिकाइ दिगो बनाउन सकिनेमा जोड दिदै तालिमले दिएका ज्ञान, सिपलाई कक्षाकोठामा उतार्न अनुरोध गरे ।
कार्यक्रम बन्दिपुर गाउँपालिका अन्तर्गतका ३१ वटा सामुदायिक विद्यालय मध्ये दोश्रो चरणमा १५ विद्यालयका कक्षा २ मा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो । साथै उक्त तालिम जम्मा ३१ विद्यालय मध्ये पहिलो चरणमा १६ र दोश्रो चरणमा १५ विद्यालय सहभागि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले बताए ।










