तनहुँमा दूध, मासु र अण्डाको उत्पादन मागभन्दा बढी

भञ्ज्याङ समाचारदाता/दमौली

पशुपालन गर्ने कृषकको संख्या बढेसँगै तनहुँमा दूध, मासु र अण्डाको उत्पादन मागभन्दा बढी भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएपछि पशुपालन गर्ने किसानको संख्या बढेको हो ।

आर्थिक वर्ष २०७७/०७८ भन्दा २०७८/०७९ मा दूध, अण्डा, मासु र माछाको उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार जिल्लामा मागभन्दा बढी मात्रामा दूध, मासु र अण्डाको उत्पादन भइरहेको छ । यसले तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको उनले बताए । उनले भने, “तनहुँ जिल्लाका लागि जति माग हो, त्योभन्दा बढी उत्पादन भएकाले तनहुँ आत्मनिर्भर बन्न सफल भएको हो ।”

आर्थिक वर्ष ०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै अण्डा दुइ करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ । दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेटि्रक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेटि्रक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ ।

प्रतिव्यक्ति प्रतिवर्ष दूध ८४.९४ लिटर आवश्यक पर्ने भएकामा जिल्लामा ११८.५४ लिटर, मासु १७.८३ केजी आवश्यक पर्नेमा जिल्लामा १४.४१ केजी, अण्डा ५१.१८ गोटा आवश्यक पर्नेमा ८२.५९ गोटा उपलब्ध भइरहेको छ । आर्थिक वर्ष ०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेटि्रक टन उत्पादन भएको थियो भने अण्डा दुइ करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लामा पशुपन्छीको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७८/७९ को तथ्याङ्क अनुसार गाईको संख्या ५२ हजार आठ सय तीन, भैसीको संख्या ५७ हजार पाँच सय ४४, भेडाको संख्या सात सय २६, बाख्राको संख्या ३९ हजार चार सय ३४, कुखुराको संख्या एक लाख ९५, हाँसको संख्या १२ हजार छ सय ९४, बङगुरको संख्या ४८ हजार तीन सय ११ छ ।

आव ०७८/७८ मा गाईको संख्या ५१ हजार सात सय १७, भैँसीको संख्या ५६ हजार चार सय ७२, भेडाको संख्या सात सय १४, बाख्राको संख्या ३८ हजार सात सय ३७, कुखुराको संख्या ९८ हजार तीन सय ९५, हाँसको संख्या १२ हजार एक सय ८३ र बंगुरको संख्या ४७ हजार दुइ सय ७२ थियो ।

जिल्लामा व्यावसायिक पशुपन्छी फर्म दर्ता बढेको छ । आव २०७८/०७९ मा ९२ पशुपन्छी फार्म बढेको डा श्रेष्ठले जानकारी दिनुभयो । यसअघि जिल्लामा एक हजार ११ व्यावसायिक पशुपन्छी फार्म थिए । यहाँ दुइ सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुइ सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपन्छी फार्म सञ्चालनमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker