तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी, गठबन्धनका उम्मेदवारको अग्रता कायमै, पछ्याउँदै एमाले
भञ्ज्याङ न्यूज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचन अर्न्तर्गत तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना कार्य जारी छ ।
जारी मतगणना अनुसार आज दिउँसो २ बजेसम्म सार्वजनिक मत परिणम अनुसार तनहुँमा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको सुरुवाती अग्रता कायमै रहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ८ हजार १७४ मत गणना गर्दा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २ हजार ८३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार एक बहादुर रानाले २ हजार ७७१ मत पाएका छन् ।
यस्तै, कैची चुनाव चिन्हका उम्मेदवार गोविन्दराज जोशीले ३२८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ९७३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनोद कुमार घर्तीले ४६६ मत प्राप्त गरेका छन् ।
प्रदेश १ मा ५ हजार १२० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अशोक कुमार श्रेष्ठले २ हजार १५२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार रामबहादुर गुरुङले १ हजार ३९६ मत प्राप्त गरेका छन् । कलम चुनाव चिन्हका विद्याल कढालले ३७० र राप्रपाका विवेक न्यौपानेले ६२२ मत प्राप्त गरेका छन् ।
प्रदेश २ मा ६ हजार मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि बहादुर चुमानले २ हजार ७२६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङले १ हजार ५०२ मत प्राप्त गरेका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा ६७ हजार १३० मत खसेको थियो ।
यस्तै, तनहुँ निर्वाचन क्षेत्र नं. २ मा पनि बाम-लोकतान्त्रिक गठाबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् भने नेकपा एमालेका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।
तनहुँ क्षेत्र नं. २ मा ४१ हजार ७३३ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १९ हजार २२१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गरेका छन् । भण्डारीले ३ हजार ५३१ मतले अग्रता लिइएका छन् ।
घण्टी चुनाव चिन्हका विजय जोशीले २ हजार ७५१, हलो चुनाव चिन्हका नरेन्द्र प्रताप महतले ६३०, लौरो चुनाव चिन्हका विष्णु पराजुलीले ३६२, भाले चुनाव चिन्हका प्रबिन थापा मगरले ४०८ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदेश १ मा १६ हजार १९ मत गणना हुँदा नेकपा माओवादीका उम्मेदवार राजेन्द्रकृष्ण न्यौपानेले ६ हजार ६३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामराजा महतले ५ हजार ९१९ मत प्राप्त गरेका छन् ।
प्रदेश नं. २ मा १३ हजार ५७१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार जितप्रकाश आलेले ६ हजार ३५५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले ६ हजार ११५ मत प्राप्त गरेका छन् । आलले २४२ मतले अग्रता लिइएका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ ।
निर्वाचन क्षेत्र नं. १ को दमौली स्थित मुख्य निर्वाचनको कार्यालय जिल्ला समन्वय समिति तनहुँको भवन र निर्वाचन क्षेत्र नं. २ को शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना कार्य सुरु गरिएको छ ।
४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको तनहुँमा दुइ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
२ लाख ४८ हजार ४९५ जना मतदाता रहेको तनहुँमा आइतबार भएको निर्वाचनमा १ लाख ३५ हजार ४०१ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि करिब ५५ प्रतिशत मत खसेको छ ।










