तनहुँको खैरेनीटारस्थित झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा

जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन लागेपछि अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

उद्यानमा बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा दुइ सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिए । “करिब पाँच रोपनी क्षेत्रफलमा दुइ सय बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ”, उनले भने, “आगन्तुकलाई जडीबुटी, वनस्पतिलगायत बिरुवाको बारेमा जानकारी दिन नेमप्लेट (नामसहितको विवरण) टाँस गरी राखेका छौँ ।”

उक्त स्थानलाई ‘शैक्षिक हब’का रुपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित जडिबुटी र वनस्पति रोप्ने अभियानअघि बढाइएको सञ्चालक पौडेलले बताए । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्ला लगायत औषधिजन्य जडीबुटी लगाइएको उनले जानकारी दिए । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाममा उक्त उद्यान स्थापना गरिएको हो । रु एक करोड ५० लाखको लागतमा स्थापना गरिएको जडीबुटी उद्यानसहितका विभिन्न भौतिक संरचनाले यहाँ घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने गरेको पौडेलको भनाइ छ ।

उद्यानमा जडीबुटीका साथै हात्ती, गैँडा, बाघ, घोडालगायत विभिन्न जातका पन्छी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको उद्यानका सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए । उनले भने, “खोलाको वरपर रहेको जंगलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने जोकोही पर्यटक खुसी भएर फर्किने गरेका छन् ।”

अधिकारीका अनुसार ५० भन्दाबढी प्रजातिका फलफूलका बिरुवा लगाएर नामसहितको सुन्दर बगैंचा स्थापना गरिएको छ । उनले भने, “विभिन्न जातका जडीबुटीका बिरुवा हेर्न आउनेलाई उक्त बिरुवाको महत्वका बारेमा जानकारी गराउने गरेका छौँ ।”

पछिल्लो समय झाँगाझोलीमा पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रको प्रचारप्रसार हुन थालेको सञ्चालक अधिकारीले बताए । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउने लक्ष्यसहित अभियान थालिएको भन्दै यहाँको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको जीवनस्तर सुधार हुँदै जाने उनको भनाइ छ ।

रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिर रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकले मनोरम दृश्यसहित मनोरञ्जन लिन सक्नेछन् । सञ्चालक अधिकारीले भने, “पारिवारिक वातावरणमा अर्गानिक खाना र आरामदायी बसाइका लागि उत्कृष्ट गन्तव्यको रुपमा झाँगाझोलीलाई विकास गर्दै लगेका छौँ ।”

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेका छन् । दुवै जिल्लाका झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित छन् । यस क्षेत्रको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने स्थानीयको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker