भानुको शिक्षा, युवा तथा खेलकुद शाखाको विद्यालय अनुगमन अभियान
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको अनुगमन अभियान सञ्चालन गरेको छ । शाखाले नगर क्षेत्रका विभिन्न विद्यालयहरुको अनुगमन तथा शैक्षिक सामाग्रि समेत हस्तान्तरण गरेको छ ।
अनुगमनका क्रममा विद्यालयको प्रारम्भिक बाल विकास कक्षा, नगरपालिकाको र्सशर्त अनुदानबाट निर्मित ३२ सिट क्षमताको इन्टरनेट सहित जडान गरिएको व्यवस्थित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला नवनिर्मित अपाङमैत्री शौचालय र सम्पूर्ण विद्यालयको भौतिक अवस्थाको विषयमा अनुगमन गरेको बताइएको छ ।
भानु-११ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तारा नरेश पौडेल, भानु-७ का वडा अध्यक्ष रामकृष्ण देवकोटा, भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, नगर शिक्षा समितिका सदस्यहरु संगीता जोशी, रामकला वि.क, नगर शिक्षा समितिका रुपा लामा, रामनाथ बच्काइ, भानु नगपालिकाका बोर्ड सदस्य सुर्यकला घर्ती, शिक्षा अधिकृत सरस्वती गुरुङ (ढकाल), नेपाल शिक्षक संघका अध्यक्ष उपेन्द्र विष्ट, भानुका अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रिदय भट्ट, भानु अखिल नेपाल शिक्षक संघका अध्यक्ष इश्वरी प्रसाद ढकाल, सम्बन्धित वडाका वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको टोलीले विद्यालयको अनुगमन गरेका छन् ।
उक्त अनुगमनका क्रममा विद्यालयमा परिचयात्मक कार्यक्रमको पनि आयोजना गर्ने गरिएको छ । कार्यक्रममा भानुका नगर शिक्षा अधिकारी लगायतका अनुगमनमा खटिएका टोलीले संयुक्त रुपमा भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयहरुलाई एलइडी बोर्ड टिभी समेत हस्तान्तरण गरेको छ ।
यस्तै, भानु-१२ को सरस्वती मन्दिर माध्यमिक विद्यालयको अनुगमनका क्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले विद्यालयमा निर्मित बाल कक्षा र कम्प्युटर ल्यावको व्यवस्थापन सबै भन्दा उत्कृष्ट नमुना भएको बताएका थिए । अधिकारी पौडेलले कक्षा १० का विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै उनीहरुका समस्या र विद्यालयबाट प्राप्त सेवा सुविधाको विषयमा जानकारी लिएका थिए ।