व्यास नगरपालिकामा योजना आयोगका सल्लाहकार चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगर योजना आयोगका सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो ।
सल्लाहकार समितिमा व्यास-१ का हरिसिं गुरुङ, व्यास-२ का मोहनकुमार विश्वकर्मा, व्यास-३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास-५ का रघुराज काफ्ले, व्यास-६ का डा. शेषरमण न्यौपाने, व्यास-९ का उषा पोख्रेल, व्यास-११ का तिलु थापा, राजेन्द्र अधिकारी र थमबहादुर दरैलाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बताए ।
यसैगरी नगरपालिकाले पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरु सम्मिलित परामर्श समिति समेत गठन गरेको छ । समितिको संयोजकमा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल रहेका छन् भने सदस्यहरुमा संविधानसभा सदस्य एवं पूर्व नगरप्रमुख ध्रुव वाग्ले, निवर्तमान प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका पूर्व प्रमुख एवं उपप्रमुखहरु, निवर्तमान वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु रहेका छन् ।
नगरपालिकाले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुसार प्रज्ञा परिषद् सदस्यका लागि १५ दिने सूचना आव्हान गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले व्यास-८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानून बमोजिम अधिग्रहण प्रक्रिया अगाडी बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । आगामी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास गुफादेखि तनहुँसुरसम्म महिला हाफ खुल्ला म्याराथन गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, बैठकले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार व्यास-९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुशीला दुरा र सदस्यहरुमा जीवन गुरुङ, सुरेश वाग्ले, कमला विक, कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोकबहादुर थापा, मदन वाग्ले र शरण घर्ती रहेका छन् ।
बैठकमा नगरपालिकाद्वारा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनको भौतिक एवं आर्थिक लाभलागतको विस्तृत प्रतिवेदन पुर्वाधार विकास शाखाद्वारा प्रस्तुतिकरण गरीजानकारी गराइएको थियो भने सहकारी संस्था अनुदान वितरण कार्यविधि, २०७९ पारित गर्ने पनि निर्णय गरिएको छ ।










