म्याग्देको घुम्ति शिविर : अपाङ्गता भएकालाई घरमै कोभिड-१९ विरुद्धको खोप
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको घुम्ति शिविरको चौथो दिन म्याग्दे ३, को किलचोकमा शारीरिक रुपमा अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमा नै कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिईएको छ ।
पूर्ण अशक्त रहि क श्रेणीको अपाङ्गता रहेका वर्ष ३२ का पुर्ण वहादुर सारु, वर्ष२८ को कृष्ण वहादुर थापा, सोही ठाउँ वस्ने, वर्ष ३३ को विहिसरा थापा र हुन्चिङ्ग निवासी वर्ष २९ को नारायण वहादुर हुन्चिङ्गको घरमै कोभिड विरुद्धको खोप र स्वास्थ्य सेवा दिईएको हो ।

अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएको हुँदा निजहरुको घरमै गएर खोप र अन्य स्वास्थ्य सेवा दिईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
स्पाईनल इन्जुरीको कारण पूर्ण रुपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहेका २९ वर्षीय नारायण वहादुर हुच्चिङ्ग कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुशी भएको बताए। समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएका व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

चौथो दिनसम्ममा सात ठाउँमा सञ्चालन गरिएको शिविरमा कोभिड १९ विरुद्ध वयस्क फाईजर खोप २६७ जनाले लिएका छन् । जस मध्ये १७ जनाले पहिलो मात्रा, १८ जनाले दोश्रो मात्रा तथा २३२ जनाले तेश्रो/बुष्टर मात्रा खोप सेवा लिएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए ।
वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भईसकेको पालिकाले बताएको छ । शिविर असोज ३१ गतेसम्म सञ्चालन गरिने भएको छ ।











