४४ किलोमिटर दुरीको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बिशालले जिते
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास-७ का जर्सी नं. ३२ का विशाल गुरुङले जितेका छन् ।
शहीद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन तीन घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा व्यास नगरपालिका-६ का जर्सी नं. १६ का सहास पन्थले उक्त दूरी तीन घण्टा ३६ मिनेटमा पार गर्दै द्धितीय हुन सफल भएका छन् ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका-१ का जर्सी नं. ३१ का सनम गुरुङले सोही दुरी तीन घण्टा ३८ मिनेटमा पुरा गर्दै तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथमलाई ६१ हजार रुपैयाँ, द्धितीयलाई ५१ हजार रुपैयाँ र तृतीयलाई ३८ हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ । उक्त प्रतियोगितामा ५७ धावकको सहभागिता रहेको थियो ।
यस्तै, प्रतियोगितामा सान्त्वना हुने ३ जनालाई जनही १२ हजार पाँच सय रुपैयाँ नगद सहित ट्रफी र मेडलद्वारा पुरस्कृति गरिएको छ ।
‘पर्यटन, धार्मिक एंव ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ आयोजित अल्ट्रा म्याराथनका लागि अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनीकुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती, बाहुन पोखरा गाडापानीको मार्ग प्रयोग गरिएको आयोजकले बताएको छ ।
पर्यटकीय क्षेत्र मानहुँकोट र ऐतिहासिक क्षेत्र पुलिमराङको बिकासका लागि व्यास नगरपालिकाले हरेक वर्षशहीद दिवसका दिन अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
नगरपालिकाले बिगतका वर्षा खुल्ला रुपमा म्याराथन आयोजना गर्दै आएपनि यस वर्षजिल्लावासीको सहभागितामा प्रतियोगिता आयोजना गरेको थियो । बिगतका वर्षरुमा राष्ट्रिय धावकको सहभागितामा हुँदै आएको प्रतियोगिताका विजेताले प्राप्त गर्ने पुरस्कार राशी समेत घटाइएको छ ।










