भुजेल महिला समाजको चौथो महाधिवेशन : अध्यक्षमा तनहुँकी बसुन्धरा
भञ्ज्याङ न्यूज

भुजेल महिला समाजको चौथो राष्ट्रिय महाधिवेशन तनहुँमा सम्पन्न भएको छ । जेष्ठ २७ र २८ गते भएको सम्मेलनले आगामी तीन वर्षको लागि बसुन्धरा घर्ती (भुजेल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको समाजकी महासचिव अम्बिका भुजेलले बताइन् ।
महाधिवेशनको प्रमुख अतिथि गण्डकी प्रदेश सभा संसद राजकुमारी भुजेलले आफ्नै छुट्टै पहिचान बोकेको यस जातिको मौलिकता र इतिहास बिस्तारै लोप हुँदै गइराखेकोले यस जातिको जातिय अस्तित्वलाई जोगाउन र जातिय उथ्थानको लागि क्रियाशील हुन यो समाज जरुरी भएको बताइन् ।
भुजेल समाजको अध्यक्ष खेम बहादुर भुजेलले कसैको अधिकार खोस्न र कुनै जातिको विरुद्धमा नभई आफ्नै जातिको एकता, खोज अनुसन्धान र संस्कृतिको संरक्षण गर्न हामी समाजमा आबद्द हुनु परेको बताए ।
आफ्नो प्रतिबद्धता मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष बसुधरा घर्तीले ७७ जिल्लामा छरिएर रहेका भुजेल महिलाहरुलाई एउटै फूलको मालामा उन्दै संगठन विस्तार गर्ने बताइन् ।
भुजेल नेपालका आदिबासी जनजाति मध्येको एक जाति हो । नेपालका हुम्ला, बझाङ र बाजुरा जिल्ला बाहेक ७२ जिल्ला भरि फैलिएको रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रितिरिवाज र मौलिकता रहेको छ ।
भुजेल नेपालका बिभिन्न भागहरुमा छरिएर रहेको छ । भुजेल, घर्ती, खवास र निसेल गरी ४ थरहरुमा बिभाजित यस जातिका ११९ उपथर रहेको पाईन्छ । सरकारी जनगणना २०६८ तथ्याङ्क अनुसार १ लाख १८ हजार ६५० जनसंख्या रहेको छ । तर जनजाति महासंघले भने यो तथ्याङ्कलाई मिथ्याङ्क भन्दै अस्वीकार गरेको छ ।
साथै महाधिवेशनबाट वरिष्ट उपाध्यक्ष ढक माया भुजेल, उपाध्यक्ष भक्तकुमारी भुजेल, महासचिव अम्बिका भुजेल, सचिव सिता भुजेल, एकु माया भुजेल, इन्दु खुवास, सरस्वती भुजेल र कोषाध्यक्ष भावना भुजेल सर्वसम्मत निर्वाचित भएका छन् ।










