त्रिशुल सहितको शिवको मूर्ती निर्माणका लागि तनहुँको थर्पुमा महायज्ञ

तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गरिएको छ। थर्पुस्थित सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गणमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती निर्माण तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकासका लागि महायज्ञ आयोजना गरिएको मुल समारोह समिति संयोजक चित्र बहादुर शाहीले जानकारी गराए ।
साउन २७ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिरोमणी पं. पौडेलले संगीतमय श्रीमद्भागवत महापुराण वाचन गरेका छन् । महायज्ञमा शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवं बोलवम महोत्सव–२०८१ सञ्चालन गरिने मन्दिर उपभोक्ता समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिको आयोजना तथा म्याग्दे गाउँपालिका संरक्षक र सह–संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको महायज्ञको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच आइतबार शुभारम्भ गरेका छन् ।
महायज्ञको दोस्रो दिन ५ लाख ९० हजार ३६७ रूपयाँ दान संकलन गरिएको छ । महायज्ञमा हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रूद्राभिषेक (रूद्री पाठ) सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पुजा, चौरासी पुजा, अन्नदान, भुमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्युचोली सहित आरती अर्पण लगायतका धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।










