व्यास नगरपालिकाद्वारा औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु बन्द गर्न डिसिसिएमसिलाई अनुरोध
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गएपछि नगरक्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले नगरक्षेत्रभित्र औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पुर्ण व्यवसायहरु केही दिनका लागि पुर्णरुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले व्यास नगरक्षेत्रभित्र औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)लाई अनुरोध गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कोभिड-१९ नियन्त्रण सम्बन्धी समिक्षा वैठकले कोभिड-१९ का बिरामीहरुको मृत्यू हुनेक्रम बढी रहेकाले जात, धर्म, संस्कार अनुसार मृतकहरुको व्यवस्थापन गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहयोग लिई स्थानीय टोल संस्थासंग समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरपालिका अन्तरगतका सम्पुर्ण सामुदायीक तथा नीजि शैक्षिक संस्थाहरुको पढाइ, परिक्षा, ट्यूसन कक्षा अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, वडा नं १२ का घरमा बस्ने वातावरण नभएका संक्रमितहरुलाई सुरक्षित रुपमा राख्नका लागि छिर्कने स्थित वन कार्यालय भवनलाई उपयोगमा ल्याउने तयारी गरिएको छ । उक्त भवन उपलब्ध गराइदिन बैठकले डिभिजन वन कार्यालय, तनहुँसंग अनुरोध गरेको छ ।
व्यास नगरपालिका क्षेत्र भित्रका कतिपय रुघा, खोकि तथा ज्वोरोका विरामिहरु पिसिआर परिक्षणका लागि आउन आनाकानी गरेको भन्ने गुनासो आएकाले सम्पुर्ण टोल विकास संस्थालाई परिचालन गरी आफ्नो टोल छिमेकमा त्यस्ता प्रकृतिका विरामिहरु देखिएमा तुरुन्त यस नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी पिसिआर परिक्षण गर्न गराउन सम्बन्धित वडा अध्यक्षले आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, नगरपालिकाले वडा नं २ स्थित कृषि विकास वैंकको पुरानो भवनमा सञ्चालनमा ल्याएको सामुदायीक आईसोलेसन केन्द्रलाई सम्पुर्ण सुरक्षा व्यवस्था मिलाई आज आइतबारबाट सञ्चालन गर्ने र जटिल विरामीलाई थप उपचारका लागि अन्य कोभिड-१९ सम्बन्धी अस्पतालसंग समन्वय गरी पठाउने निर्णय गरिएको छ ।
नगरपालिकाको मुल कार्यालय र वडा कार्यालयहरुद्वारा प्रवाह हुदै आएका नियमित सरसफाई, वारुण यन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरु बाहेकका अन्य सम्पुर्ण सेवाहरु जेठ १० गतेसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।










