भट्टराइ इन्सेकको उत्कृष्ट जिल्ला प्रतिनिधिबाट पुरस्कृत
भञ्ज्याङ समाचारदाता/दमौली

इन्सेकको तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइ यसवर्षको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत भएका छन् । इन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को शनिबार पोखरामा आयोजित सार्वजनिकीकरण कार्यक्रममा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले भट्टराइलाई गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रतिनिधिको पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । इन्सेकले मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा हरेक वर्ष प्रत्येक प्रदेशमा एक/एक जना जिल्ला प्रतिनिधिलाई पुरस्कृत गर्दै आएको छ ।
सन २०२१ को गण्डकी प्रदेश तर्फको उत्कृष्ट पुरस्कार भट्टराइले प्राप्त गरेका हुन् । भट्टराइले यस अघि सन २०१५ मा पनि उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कार प्राप्त गरेका थिए । सन २००४ देखि तनहुँमा इन्सेक जिल्ला प्रतिनिधिको रुपमा कार्यरत भट्टराइ मानवअधिकार र सामाजिक न्यायको अभियानमा निरन्तर क्रियाशील छन् ।
पत्रकारितामा समेत आबद्ध भट्टराइ नेपाल पत्रकार महासंघ तनहुँको पुर्व अध्यक्ष तथा लोकवाणी दैनिकका सम्पादक समेत हुन् । तनहुँ जिल्लामा मानवअधिकार रक्षाको अभियानमा सक्रिय रहेको तथा मानवअधिकार तथा सामाजिक न्यायको अभियानमा उत्कृष्ट कार्य गरेवापत यस वर्षको पुरस्कार भट्टराइलाई प्रदान गरिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताए । पुरस्कारको राशी नगद ७ हजार र सम्मानपत्र रहेको छ ।










