पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

कास्की : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गर्नुभएको हो ।

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार प्रतियात्रुु रु तीन हजार विमानस्थललाई आम्दानी भएको छ । उहाँले भन्नुभयो, “यो पोखराको पहिलो कमर्सियल उडान हो । यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौँ, चार्टरको रूपमा आएको हो । यसका लागि मेहनत गरेका थियौँ, कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ, यसबाट उनीहरू कन्भिस भएर आएका हुन् ।”

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए । काठमाडौँबाट उनीहरू आठ हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन । विमानस्थल आन्तरिक उडानमा सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker