हरितालिका (तीज) को गीत गाउँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वका अवसरमा सोमबार दमौली स्थित अनसन चौतारीमा गीतको माध्यमबाट परम्परागत तीजको स्मरण गराउँदै स्थानीय वृद्धाहरु ।
बढ्दो आधुनिकता तथा विविध कारणले तीज पर्वका दिन सुनसान जस्तै बनेको थियो दमौली बजार । सोमबार साँझ पख केही वृद्धाहरु चौतारीमा भेला भई सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको सन्दर्भ गीत मार्फत प्रस्तुत गरी परम्परागत तीजको झल्को दिएका थिए । गीतमा वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको गीत मार्फत प्रस्तुत गरेका थिए ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका -तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको वृद्धाहरुले पनि सो गीतमा प्रस्तुत गरेका थिए ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुइवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा यसै दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले यसको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ महिलाहरुले तीज पर्व मनाउँदै आएका छन् ।
नेपाली महिलाहरुले देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
यस्तै, तीज पर्वका दिन भिडभाड रहने तनहुँको सदरमुकाम दमौली बजार यस वर्ष भने खाँसै चहलपहल देखिएन । तीजका अवसरमा दमौली तथा आरपासलका क्षेत्रमा तीज विशेष कुनैपनि कार्यक्रम पनि सञ्चालन गरिएका थिएनन् ।
व्यास नगरपालिकाको छिमेकी पालिका बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा र म्याग्दे गाउँपालिकामा ठूलो धनराशीको पुरस्कार सहित तीज गीत प्रतियोगिता गरिएको थियो। यस्तै, जिल्लाका अन्य पालिकाहरुमा पनि विविध कार्यक्रम गरी तीज पर्व मनाइएको छ । दमौली बजारमा भने यस वर्षतीज पर्वको कुनै रौनकता देखिएन ।