भानु नगरपालिकामा कृषि सम्भाव्यता बारे दोश्रो चरणको अन्तरक्रिया

भानु : भानु गनरपालिकाको कृषि सम्भाव्यता बारे नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काठमाडौँको टोली र भानु नगरपालिकाबीच दोस्रो चरणको अन्तरक्रिया गरिएको छ । नगरपालिकामा सोमबार कृषि सम्भाव्यता रहेका बाली, जमिनको माटो परीक्षण, उत्पादन, गुणस्तर तथा बजारीकरणको सम्भाव्यता, सिंचाइ व्यवस्था र किसानका समस्याको पहिचानसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो।
केही दिनअघि भानु नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखाको टोलीले नार्क काठमाडौँस्थित केन्द्रीय कार्यालयमा प्रारम्भिक छलफल गरेको थियो । सो छलफलपछि भानु नगर कृषि शाखाको प्रत्यक्ष निगरानीमा नार्कका विज्ञहरूसँग कृषि आधुनिकीकरण लगायतका विषयमा विस्तृत परामर्श गरिएको जनाइएको छ ।
नार्कका कृषि विज्ञ तथा प्राविधिक टोलीको सहयोग र कृषि अनुसन्धान निर्देशनालय लुम्ले (कास्की)को प्रत्यक्ष निगरानीमा भानु नगरपालिकाको कृषि क्षेत्रमा किसानहरूसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैक्रममा नार्कका कृषि विज्ञ तथा प्राविधिक टोलीले भानु नगरपालिका वडा नं. ८ मा “कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग” परियोजना अन्तर्गत कृषि नवप्रवर्द्धन कार्यक्रमका रूपमा तोरी बालीको डेमोन्स्ट्रेसन अवलोकन गरेको थियो ।
टोलीले वडा नं. १० मा कृषकद्वारा करिब १२ रोपनी क्षेत्रफलमा लगाइएको कागती खेतीको समेत निरीक्षण गरी आवश्यक प्राविधिक सुझाव तथा राय प्रदान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी गराए ।
नगरप्रमुख आनन्दराज त्रिपाठीले यस सहकार्यले भानु नगरपालिकाको कृषि क्षेत्रको उत्पादनशीलता वृद्धि, किसानको आयआर्जन अभिवृद्धि तथा व्यावसायिक कृषिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।










