मुग्लिन–पोखरा सडक खण्ड विस्तार अन्तिम चरणमा
पूर्वी खण्डको ८३ प्रतिशत र पश्चिम खण्डको ५० प्रतिशत भौतिक प्रगति

तनहुँ : गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीब्रता पाइरहेको छ । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा यात्रा गर्न पाउने भएका छन् ।
निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक वि.सं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढाइएको थियो ।
सडकको पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (जामुने–पोखरा)मा ५०.३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१.४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ । ‘कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ’, उनले भने, ‘आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।’
पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताए । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उनले बताए । कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताए ।
पूर्वी खण्डमा वि.सं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, आयोजनाको पश्चिम खण्ड (जामुने–पोखरा)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताए । कूल ३८.८८ किमि दूरीको उक्त खण्डमा हालसम्म ३५.५ किमि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उनले बताए । ‘करिब तीन किमि मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमि दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ’, आयोजना प्रमुख कुँवरले भने, ‘आउँदो असारभित्रमा ३० किमि दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।’
कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोक लगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिए । ‘बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पु¥याइरहेको छ’, उनले भने, ‘अझै चार सय जति विद्युत् पोल हटाउनुपर्ने अवस्था छ। आगामी पुससम्म ठेक्काको म्याद रहेकाले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको छ ।’
कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम सुरु हुने उनले बताए । पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक बन्नेछ। ‘यस खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, आयोजना प्रमुख कुँवरले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।’
पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटा बनिसकेका छन्। कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताए । उनले भने, ‘उक्त पुलको भौतिक प्रगति ४४.६६ पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो ।’
तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।

दुवै खण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले मुग्लिन–पोखरा सडक खण्डको यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौँ, नारायणगढ लगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ । कूल ८१ किमि दूरीको मुग्लिन–पोखरा सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ ।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि अन्त्य हुने अवस्थामा पुगेको छ ।
पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिक लगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताए ।
‘अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोक लगायत ठाउँमा मापदण्डविपरीतका संरचना हटाएर चोकहरूलाई चौडा बनाइएको छ’, वडाध्यक्ष गुरुङले भने, ‘फराकिलो सडकमा दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले सडक सुरक्षाबारे सर्वसाधारणलाई सचेतना जगाउनु जरुरी छ ।’










