पाखो बारी बन्यो ‘एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर’

दमौली (तनहुँ) : तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो ।
काठमाडौं रानीबारी निवासी पारस शाक्यले विसं २०७८ देखि उक्त ठाउँमा आहाना एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर सुरु गर्नुभएको हो । करिब ७० रोपनी पाखो जमिन वार्षिक रु एक लाख भाडा तिर्ने गरी शाक्यले रु दुई करोड ५० लाखको लागतमा रिसर्च सेन्टर सञ्चालन गरिरहनुभएको छ ।
रिसर्च सेन्टरबाट भएको आम्दानीले स्थानीय गरिब, दलित र पिछडिएको समुदायलाई सहयोग गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । रिसर्च सेन्टरबाट स्थानीय बाख्रा तथा कुखुराको अध्ययन अनुसन्धान गर्ने र स्थानीयले पालेका पशुजन्य उपजको नस्लसुधार, उत्पादन र उत्पादकत्व वृद्धि गरी बजारीकरणमा टेवा पु¥याउने लक्ष्य लिइएको उहाँको भनाइ छ ।
रु एक करोडको लागतमा सुधारिएका बाख्राका खोर दुई र रु ७५ लाखको लागतमा स्थानीय कुखुरापालन गर्न खोर निर्माण गरिएकोे रिसर्च सेन्टरका लेखा तथा वित्तीय प्रमुख प्रवीण अग्रवालले बताउनुभयो । यसमा मेघा बैङ्कको ६० प्रतिशत ऋण लगानी रहेको छ । ९० मिटर लम्बाइ र २८ मिटर चौडाइ भएको खोरमा दश कोठा रहेका छन् । उक्त खोरमा माउ बाख्रा, पठ्याङ्ग्री, गर्भवती बाख्रा, बिरामी र खसी बोका छुट्टाछुट्टै राख्ने गरिएको छ । ठूलो खोरमा पाँच सय र सानो खोरमा तीन सय बाख्रा अटाउने दुईवटा खोर निर्माण गरिएका छन् ।
सेन्टरमा हाल जमुनापारि, बोयर र स्थानीय खरिजातका ६० माउ बाख्रा, पठ्याङ्ग्री एक सय ५०, खसी बोका एक सय ५० र उन्नत जातका ब्याड बोका तीन गरी तीन सय ६३ बाख्रा रहेका छन् । त्यस्तै, रु ७५ लाखको लागतमा दुई कुखुराका खोरसमेत निर्माण गरी कुखुरापालन सुरु गरिएको छ ।
सोही रिसर्च सेन्टरमा आठ हजार क्षमताको स्थानीय जातको कुखुराको खोर निर्माण गरिएको छ । उक्त खोरमा तीन हजार पाँच सय कुखुरापालन गरिएको छ । रिसर्च सेन्टरले स्थानीय छ जनालाई रोजगारी दिएको छ । रिसर्च सेन्टरमा एक व्यवस्थापक, एक बजार प्रतिनिधि र चारजना हेरालु छन् ।
बाख्रा र कुखुराको स्वास्थ्य परीक्षणका लागि हप्तामा एक दिन पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । सेन्टर सञ्चालनका लागि आहारविहार र स्याहारसुसार, उपचार र कर्मचारी तथा कामदारको पारिश्रमिकमा मासिक रु तीन लाख २० हजार खर्च हुने गरेको प्रबन्धक सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।
यहाँबाट स्थानीय कुखुरा जिउँदो भाले रु सात सय प्रतिकिलो र पोथी रु पाँच सयमा बिक्री गरिएको छ । खसी जिउँदो प्रतिकिलो रु पाँच सय ५० मा बिक्री गरिएको छ । उहाँले भन्नुभयो, “गत वर्ष खसीबोका, स्थानीय कुखुरा र केरा बिक्रीबाट रु २४ लाख आम्दानी भयो, हामी अहिले लगानीको अवस्थामा छौँ ।” सेन्टरले उत्पादन गरेको जैविक मल स्थानीय किसानलाई उपलब्ध गराउने र स्थानीय किसानबाट मौसमी तथा बेमौसमी घाँस खरिद गर्ने गरिएको जनाइएको छ ।  रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker