कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

चितवन : स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) आजदेखि विश्वविद्यालयमा सुरु भएको हो । कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गर्नुभयो ।

मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेका बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष रामकुमार फुँयालले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । कृषि क्षेत्रका आयोजनालाई आयोगले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा अर्जुनकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, एसियाली विकास बैंकका रुडी भेन डायल, एएसडिपीका कार्यक्रम निर्देशक वासुदेव काफ्लेलगायतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश– विदेशका तीन सय वैज्ञानिक सहभागी भएका छन् । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन् ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker