भानुमा एसईई लक्षित वृत्ति परामर्श कार्यक्रम सुरु

भानु : तनहुँको भानु नगरपालिकाको समन्वय तथा सहजीकरणमा शैक्षिक सत्र २०८२ का लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीलाई लक्षित गरी आयोजित उत्प्रेरणात्मक वृत्ति परामर्श कार्यक्रमको पहिलो दिन शुक्रबार सम्पन्न भएको छ । भानु नगरपालिका–७ स्थित श्री चन्द्रावती माध्यमिक विद्यालय, चुँदीको सभाहलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

भानुको पश्चिम क्षेत्रका सात वटा विद्यालयका विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सकारात्मक सोचको विकास, अध्ययनप्रति अभिरुचि अभिवृद्धि, भविष्यप्रतिको आशावादिता र आत्मविश्वास जागृत गराउने विषयमा विशेष जोड दिइएको थियो ।

कार्यक्रम भानु नगरपालिका, भानु–९ स्थित ग्रीन हिमालय फार्म स्टे, परोपकारी सामाजिक संस्था घुन्सा फाउण्डेशन तथा नेपाल ट्रष्टको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमका मुख्य सहजकर्ता नेपाल ट्रष्टका बोर्ड सदस्य, सामाजिक अभियन्ता योङ्जोम शेर्पा तथा उनको टिमले विद्यार्थी र अभिभावकलाई जीवन उपयोगी परामर्श प्रदान गरेका थिए ।

शैक्षिक गुणस्तर अभिवृद्धि लक्ष्य

परामर्श कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा असल आचरण, बानी व्यहोरा र संस्कारको विकास गराउने, अभिभावक, अग्रज र गुरुजनप्रति श्रद्धाभाव अभिवृद्धि गर्ने, समयको महत्वबोध गराउने तथा एसईई परीक्षालाई उपलब्धिमूलक बनाउँदै समग्र शैक्षिक गुणस्तर उकास्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा आधुनिक सूचना प्रविधिको सदुपयोग गर्दै घुन्सा फाउण्डेशनको माध्यमबाट एम्बेशन गुचु नामक एप प्रयोग गरी निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिएको जानकारी गराइएको थियो । अनलाइन अध्ययन, समय व्यवस्थापन, बालबालिकाप्रति अभिभावकको दायित्व तथा अनुशासित जीवनशैलीका विषयमा समेत परामर्श दिइएको सहभागीहरूले बताएका छन् ।

प्रेरणादायी जीवन कथाले छोयो मन

कार्यक्रममा मुख्य सहजकर्ता योङ्जोम शेर्पाले आफ्नो संघर्षपूर्ण जीवन यात्रा सुनाउँदै सकारात्मक सोच, निरन्तर मिहिनेत र आत्मविश्वासले जीवनमा सफलता हासिल गर्न सकिने सन्देश दिएका थिए । सुदूरपूर्वको विकट पहाडी क्षेत्रमा जन्मिएर कठिन परिस्थितिमा हुर्किएकी एक अनाथ बालिकाबाट सामाजिक रूपान्तरणको अभियन्ता बन्ने यात्राले विद्यार्थी र अभिभावक दुवैलाई भावुक बनाएको थियो ।

सहभागी विद्यार्थीहरूले कार्यक्रमले आफूहरूलाई भविष्यप्रति आशावादी बनाएको र निरन्तर प्रयासका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमको सफल व्यवस्थापनका लागि होस्ट विद्यालय श्री चन्द्रावती मावि चुँदीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोकबहादुर खत्री, प्रधानाध्यापक प्रेमनाथ ढकाल तथा सम्पूर्ण विद्यालय परिवारप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन् ।

आयोजकका अनुसार यही प्रकृतिको वृत्ति परामर्श कार्यक्रम माघ ३ गते बिहान ११ बजे चोक माध्यमिक विद्यालय रामपुरटारमा तथा दिउँसो २ बजे होरालो शाश्विस माध्यमिक विद्यालय नारेश्वरटारमा आयोजना गरिनेछ । कार्यक्रम सफलताका लागि सम्बन्धित विद्यालयलाई आवश्यक पूर्वतयारी र व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker