झोलामा किताबकापी बोकेर चार महिनापछि कक्षाकोठामा पुगे विद्यार्थी (फोटोफिचर)
भञ्ज्याङ न्यूज

तनहुँका अधिकांश विद्यालय चार महिनापछि खुल्ला भएका छन् । कोरोना कहरका कारण गत वैशाख दोश्रो सातापछि बन्द हुन पुगेका अधिकांश विद्यालयहरु भदौको तेश्रो हप्ता लागेपछि खुल्न थालेका छन् । जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालना गरी विद्यालय खोल्दै लगेका छन् ।

यता स्थानीय प्रशासनले कोरोना संक्रमण जेखिम कायमै रहेकाले तत्काल भौतिक रुपमा विद्यार्थी सहभागी गर्राई पठनपाठन नगराउन भन्दै आएको छ । स्थानीय पालिकाहरुले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्मार्ट लकडाउनको मापदण्डलाई पुर्ण पालना गरी विद्यालय खुल्ला गरिएको बताएका छन् ।

करिब चार महिना पछि विद्यालय खुल्ला भएपछि विद्यार्थीहरु पनि निकै खुशी र उत्साहका साथ विद्यालय पुगेका छन् । व्यास नगरपालिका-१ तालघारेकी सिवानी परियार लामो समयपछि झोला बेकेर विद्यालय जान पाएकोमा निकै खुसी छिन् । कोरोना कहरका कारण बन्द भएको विद्यालय करिव ४ महिनापछि खुल्दा उनी झोलामा कितावकापी बोकेर विहान ९ बजे लागत्तै विद्यालय हिडेकी थिइन् ।

करिव आधा घण्टाको पैदल यात्रामा विद्यालय पुगिने भएपछि उनी साथीहरुसंगै रमाउदै विद्यालय आएकी थिइन् । उनीसंगै आएका साथीहरुपनि विद्यालय जान पाएकोमा निकै खुसी देखिन्थे ।

व्यास-१ भादगाउँस्थित जलदेवि माध्यमिक विद्यालयको कक्षा ९ ‘ए’ मा अध्ययनरत सिवानी विभिन्न समस्यका कारण अनलाइन कक्षामा पनि सहभागि हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘विद्यालयले अनलाइनमा पढाएपनि मसंग अनलाइन कक्षामा सहभागी हुन मिल्ने मोवाइल छैन । आफन्तको मोवाइल मागेर डाटा प्रयोग गरी मुस्किलले एक हप्ता अनलाइन कक्षमा सहभागी भएको थिए । तर त्यसरी पढेको भन्दा विद्यालयमै पढ्न पाउदा खुसी लागेको छ ।’















