सयपत्री फूल व्यवसायको नयाँ गन्तव्य : आँवुखैरेनीमा उत्पादित सयपत्री फूल कतार पुग्यो

भञ्ज्याङन्यूज

नयाँ व्यवसायको सम्भावना देखिएकाले फूलखेती विस्तार गरी उद्यम तर्फउन्मुख गराउँछौं : अध्यक्ष चुमान

तनहुँको आँवुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार पठाइएको छ । कतारमा पहिलोपटक नेपाली फूल भित्रिएको हो । नेपालीहरुको दोश्रो ठूला पर्व तिहारमा अत्याधिक प्रयोग हुने सयपत्री फूल गाउँपालिकाको समन्वयमा कतार पठाइएको हो ।

नेपालीहरूको महान दोस्रो ठूलो रंगिन पर्व तिहारले गाउँ, शहर र विदेशमा बस्ने नेपालीहरूलाई छोपिसकेको छ । तिहार उज्यालो र फूलै-फूलको पर्व पनि हो । व्यावसायिक फूलखेती गर्दै आएका फूल किसानलाई अहिले फूल टिप्न भ्याइ नभ्याइ छ ।

आँबुखैरेनी गाउपालिकाको सहयोगमा वाड नं. १ स्थित आधिमुल आमा समूह, याञ्चोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीहरुले उत्पादन गरेको फूल अहिले स्वदेशी बजारसंगै विदेशी बजारमा समेत बिक्रीवितरण सुरु हुँदा निकै उत्साहित र फूल व्यवसायले आशा जगाएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार भुजेल समाज का नेता विकास भुजेलको समन्वय र पालिकाको कृषि शाखा प्रमुख सन्तोष के.सी. लगायतका टिमले गरेको सहयोग प्रति गाउँपालिका अध्यक्ष चुमानले आभार समेत प्रकट गरेका छन् ।

गाउँपालिकाबाट पहिलो चरणमा गत विहीबार तीन सय माला कतार पठाइएको अध्यक्ष चुमानले बताए । उनले भने, ‘हामीले पहिलो चरणमा प्रति माला १५० रुपैयाँका दरले तीन सय माला पठाएका छौं । समयमै बजार खोज्न सकेको भए यसै वर्षकरिब एक हजार माला कतार पठाउन सकिने रहेछ ।’

‘सयपत्री फूल कतार पुगेसंगै बजारको सम्भावना रहेको आशा जगाएको छ’, अध्यक्ष चुमानले भने, ‘अत्तर र अगरबत्ती उत्पादनका लागि सुकेको सयपत्री फूललाई कच्च पदार्थका रुपमा प्रयोग गरिदो रहेछ । अब गाउँपालिकाले बजारको खोजी गर्दै सयपत्री फूलको खेती विस्तार गरी कृषकलाई उद्यम तर्फउन्मुख गराउने सोचामा छौं ।’

नेपालमै फूल उत्पादनको सम्भावना भएपनि तिहारका समयमा भारत र अन्य देशबाट प्राकृतिक फूल र कृत्रिम फूल आयात हुन छाडेको छैन । चाडबाडमा प्रयोग हुने मखमली र सयपत्री फूल खेतीलाई थप विस्तार गर्न र कृषकलाई फूलमा आत्मनिर्भर बनाउन पहिलो पटक नेपालबाट व्यावसायिकरूपमा सुदान फ्लावरले कतारमा सयपत्री र मखमली फूल भित्र्याएको हो ।

विदेशमा पनि फूलको बजार र आम्दानीको सम्भावना प्रशस्तै भएको र नेपाल बाहिरको मिनी नेपालमा बस्ने नेपालीलाई नेपाली फूल प्रयोगमा ल्याउन लक्षित गर्दै स्वदेशी उत्पादनलाई विदेशी बजारमा पुर्‍याउन आँबुखैरेनी गाउँपालिका सफल भएको छ ।

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित यान्चोक आमा समुहले व्यवसायीक रुपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि माला तयार गरिदै । यस वर्ष तीहार पर्व ढिलो भएको र सयपत्री फूल चाँडै फुलेका कारण कृषकहरुलाई फूल जोगाई राख्न समस्या परेको छ । तस्विर : भञ्ज्याङ

आँवुखैरेनीको याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता माध्यमिक विद्यालयको परिसरमा गरी करिब २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएकोमा त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै कतारको बजारमा ल्याइपुर्‍याएको व्यवसायी अम्बिका पौडेलले बताए ।

दोहाको रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले तिहारको दिनबाट बिक्री वितरण शुरू हुने गरी सयपत्री फूल कतारमा भित्र्याएको छ । फूलको साइजअनुसार १ मिटरको मालाको बजार मूल्य २५ देखि ३० रियाल कायम गरिएको सुदान फ्लावरका सञ्चालक कविन्द्र कँडेलले जानकारी गराएका छन् ।

तिहारलाई मात्र लक्षित नभएर अन्य समयमा समेत नेपाली फूललाई निरन्तरता दिने उनको योजना छ । उनले भने, ‘कतारमा हुने विभिन्न कार्यक्रममा समेत फूलको प्रयोग गर्ने हो भने नेपालमा उत्पाद भएका फूल र फूलखेती किसानलाई टेवा पुग्ने हुँदा नेपाली कृषकलाई रोजगारीको खोजीमा अन्यत्र भौतारिनुपर्ने अवस्थामा आउनेछैन ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker