साहित्यमा पर्यटन र राष्ट्रिय पहिचान
के.बि. मसाल

साहित्य र पर्यटनबीचको सम्बन्ध इतिहासको प्रारम्भदेखि नै घनिष्ट रहँदै आएको छ । मानव सभ्यताको विकाससँगै मानिसले पृथ्वीका विभिन्न भूभागहरुमा यात्रा गर्न थाल्यो, अनि ती यात्राका अनुभव, देखेका दृश्य, भेटिएका मानिस र संस्कृतिहरुलाई शब्दमार्फत अभिव्यक्त गर्न थाल्यो। यही अभिव्यक्तिले साहित्यलाई नयाँ रङ, रुप र गहिराइ दिएको छ। अर्को तर्फ, साहित्यमा वर्णित ती स्थलहरु नै पछि पर्यटनको प्रमुख प्रेरणास्थल बनेका छन । यसरी हेर्दा साहित्य र पर्यटन एकअर्काका पूरक र प्रेरक क्षेत्र भएका छन ।
साहित्य केवल कागजमा लेखिएका शब्दहरु मात्र होइनन । ती भावनाका चित्रहरु पनि हुन जसले कुनै स्थान, संस्कृति वा युगलाई अमर बनाउँछ । जब कविले कुनै नदीको कलकल आवाजलाई कवितामा उतार्छ, कथाकारले कुनै ठाउको जीवनशैलीलाई कथामा बनाउछ, वा यात्रा लेखकले कुनै देवस्थानको दृष्यलाई शब्दचित्रमा उतार्छ त्यस क्षण त्यो स्थान सामान्य रहँदैन, त्यो एक साहित्यिक स्थल बन्छ । नेपालका दृष्टान्तहरु पनि यसैका साक्षी छन । भानुभक्त आचार्यले रामायण नेपालीमा अनुवाद गर्दा जनकपुर र अयोध्याको पवित्रस्थल नेपालीहरुको मनमा भावनात्मक तीर्थ बनेको छ। त्यसैका कारण जनकपुर आज पनि साहित्यिक–धार्मिक पर्यटनको केन्द्रका रुपमा प्रसिद्ध छ । त्यसैगरी, देवकोटाको मुना मदनमा वर्णन गरिएको ल्हासा यात्रा र हिमाली परिवेशले देशको उत्तर भागप्रति यात्राको चाहना जगाउँछ। साहित्यले देखाएको दृश्य, बोकेको भावनाले मानिसमा त्यो ठाउँ देख्नैपर्छ भन्ने आतुरता जगाउँछ । यही साहित्यिक भावना नै पर्यटनको आत्मा हो ।
यात्रामा निस्कँदा मानिसले प्रकृतिलाई, समाजलाई, विविध संस्कृतिलाई नजिकबाट अनुभूति गर्दछ । यही अनुभूति साहित्य सृजनाको गहिरो स्रोत बन्छ । नेपालका धेरै लेखकहरुले आफ्ना यात्रा अनुभवबाट असंख्य साहित्यिक कृतिहरु जन्माएका छन । भूपि शेरचनले पोखराको सौन्दर्य र मुस्ताङको कठोर जीवनलाई कवितामा उतारेका छन। हरिभक्त कटुवालका कवितामा यात्राको भावनात्मक अनुभूति झकिन्छ । आधुनिक समयमा लेख्नेहरुले त मानसरोवर यात्रा, मुक्तिनाथ तीर्थ, ‘हिमालका गाउँहरु र ‘त्रिवेणी सगम जस्ता अनुभवमूलक यात्रा–वृत्तान्तहरुद्वारा नेपाली साहित्यमा पर्यटनको सुगन्ध फैलाइरहेका छन । साहित्यमा यात्राको उल्लेखले पाठकलाई पनि ती ठाउँका बारेमा कल्पना गर्न, जान र बुझन प्रेरित गर्छ । यसरी, पर्यटन र साहित्य एक अर्कालाई पोषण गर्ने माध्यम बनेका छन ।
साहित्यको एउटा सबैभन्दा जीवन्त विधा हो । यो विधा नै पर्यटन र साहित्यबीचको सेतु हो। कुनै स्थान, मानिस र संस्कृति सँगको प्रत्यक्ष साक्षात्कार पछि लेखकले लेखेको यात्रा–वृत्तान्तले त्यो ठाउँको भौगोलिक, सामाजिक र सांस्कृतिक दस्तावेजको काम गर्छ । नेपालमा यात्रा–वृत्तान्त लेखनको परम्परा पुरानो छ। राणाकालमा काशी यात्रा, गगा दर्शन, ‘तीर्थयात्रा वृत्तान्त आदि लेखिएका थिए । पछि हरिभक्त कटुवाल, तुलसी दिवस र रमेश विकल जस्ता लेखकहरुले आधुनिक यात्रा लेखनको रुप दिए । अहिलेका युवा लेखकहरुले घुम्न जाँदैमा, नेपालका गन्तव्यहरु, तीर्थमार्गका पदचिह्नहरु जस्ता कृतिहरुमा पर्यटनका नयाँ आयाम थपि रहेका छन ।
साहित्य राष्ट्रको आत्मा हो । यसमा लेखिएको प्रत्येक स्थान, परम्परा, वा कथा राष्ट्रको सांस्कृतिक पहिचान बोकेको हुन्छ। जब लेखकले कुनै गाउँको लोककथा, देवीदेवताको उत्पत्ति, वा स्थानीय संस्कृतिको सौन्दर्यलाई कवितामा उतार्छ, त्यो गाउँ पर्यटन नक्सामा प्रवेश गर्छ । उदाहरणका लागि, गोरखाको गोरखनाथ मन्दिर, तनहुँको देवघाट वा धादिङको गगाजमुना क्षेत्रबारे लेखिएका कृतिहरुले ती स्थानहरुलाई धार्मिक र साहित्यिक पर्यटनको केन्द्र बनाएका छन । अर्को तर्फ साहित्यिक महोत्सवहरु जस्तै पोखरा साहित्य उत्सव, काठमाडौं साहित्यिक सम्मेलन वा लुम्बिनी साहित्य संवादले पनि साहित्यिक पर्यटनको नयाँ परिभाषा दिएका छन । यस्ता कार्यक्रमले देशभित्रका मात्र होइन, विदेशी लेखक, पाठक र पर्यटकलाई पनि आकर्षित गर्ने गरेको छ । यसरी साहित्य देशको सांस्कृतिक पर्यटनको दूत बन्न पुग्छ ।
जब कुनै स्थान साहित्यमा चर्चित हुन्छ, त्यसले आर्थिक दृष्टिले पनि योगदान पु¥याउँछ । कुनै कविको जन्मस्थल, कुनै प्रसिद्ध कथामा उल्लेखित स्थल, वा कुनै ऐतिहासिक पात्रसँग सम्बन्धित ठाउँ पर्यटकको आकर्षण बन्दछ । जस्तै तनहुँको चुँदीरम्घा, भानुभक्तको स्मृति–स्थान, काठमाडौंको देवकोटा संग्रहालय, पोखराको भूपि शेरचन स्मृति उद्यान यी केवल स्मारक मात्र होइनन ती आर्थिक दृष्टिले पनि स्थानीय समुदायका लागि पर्यटन सम्पदा हुन। साहित्यमा पर्यटनको उल्लेख बढदा त्यसले स्थानीय हस्तकला, परिकार, आवास, र सेवामा पनि रोजगारीका अवसर सिर्जना गर्दछ । साहित्यमा समाविष्ट पर्यटनसम्बन्धी विवरणहरु भविष्यका अनुसन्धानकर्ताका लागि ऐतिहासिक दस्तावेज बन्ने गर्छन । कुनै समयका यात्रा–वर्णनहरुले त्यो युगको बाटो, भूगोल, संस्कृति र समाजबारे अमूल्य जानकारी दिन्छन । उदाहरणका लागि, पुराना नेपाली यात्रा–वृत्तान्तहरुले भारत, तिब्बत र नेपालको धार्मिक सम्बन्ध, व्यापारिक मार्ग र तीर्थसंस्कृतिबारे अति महत्वपूर्ण तथ्य दिन्छन । त्यसैले, साहित्य पर्यटन अनुसन्धानको स्रोत पनि हो ।
अहिले विश्वभर साहित्यिक पर्यटनको अवधारणा तीव्र गतिमा फैलिँदै छ । शेक्सपियरको घर हेर्न हजारौँ पर्यटक स्ट्राटफोर्ड–अपोन–एभन पुग्छन । टलस्टोय, टयागोर र नेहरुका निवासहरु पनि पर्यटन केन्द्र बनेका छन । नेपालमा पनि स्रष्टाहरुको जन्मभूमी र सग्रहालयमा पुग्ने धेरै हुन्छन । यदि सरकार र स्थानीय निकायले यस्ता स्थलको संरक्षण र प्रचार गरे, नेपाल साहित्यिक यात्राको केन्द्र बन्न सक्दछ । आजको विश्वमा पर्यटन केवल दृश्य–आनन्दको कुरा रहेको छैन । यो अनुभव, शिक्षा र आत्मिक सन्तोषको यात्रा हो । यस्ता यात्रामा साहित्यिक पृष्ठभूमि जोडिँदा यात्राको गहिराइ बढछ। अहिले नेपालमा पनि साहित्य र पर्यटनलाई जोडने केही प्रयासहरु देखिन थालेका छन । साहित्यिक पदयात्रा, कवि–गोष्ठी वा कथा–वाचन कार्यक्रमहरुलाई ऐतिहासिक स्थलमा आयोजना गर्ने, पुस्तकमाथि आधारित ‘साहित्यिक मार्ग जस्तै मुनामदन–पथ, भानु–यात्रा निर्माण गर्ने यी सबैले आन्तरिक तथा बाह्य पर्यटनमा नयाँ आकर्षण ल्याउन सक्छन । यस्तो सहकार्यले पर्यटनलाई केवल आर्थिक लाभको दृष्टिले होइन, ‘सांस्कृतिक चेतना र आत्मगौरवको दृष्टिले पनि महत्वपूर्ण बनाउँछ ।
साहित्य र पर्यटन दुवै मानवीय संवेदना, सौन्दर्यबोध र अनुभवसँग सम्बन्धित क्षेत्र हुन । साहित्यले पर्यटनलाई आत्मा दिन्छ, पर्यटनले साहित्यलाई शरीर दिन्छ । जब यी दुई मिल्छन तब एउटा राष्ट्रको सांस्कृतिक गौरव, आर्थिक समृद्धि र बौद्धिक चेतनाको नँया ढोका खुल्दछ । नेपालमा साहित्यिक पर्यटनको सम्भावना अपार छ। त्यसलाई योजनाबद्ध रुपमा अघि बढाउने राजनीतिक इच्छाशक्ति र साहित्यिक जागरणको आवस्यकता छ । जब भानुभक्तको रचना पढने पाठक चुँदीरम्घामा पुग्छ । देवकोटाको कविता सुनेर पाठक कीर्तिपुर तिर आकर्षित हुन्छ । भूपिको कविताबाट प्रेरित भएर कोही पोखराको फेवाताल हेर्न पुग्छ । त्यही क्षण साहित्य र पर्यटनको मिलन सम्पन्न हुन्छ । साहित्यले सिर्जना गर्छ, शब्दमा दृश्य, भावनामा यात्रा र पर्यटनले पूर्ति गर्दछ । साहित्य समाजका दुःख–सुख, विचार, मूल्य र संस्कारलाई शब्दका माध्यमबाट चित्रण गर्ने माध्यम हो। जसरी कुनै व्यक्तिको पहिचान उसको सोच, व्यवहार र बोलीले हुन्छ । त्यसैगरी राष्ट्रको पहिचान पनि उसको भाषा, संस्कृतिमा निहित साहित्यले व्यक्त गर्दछ ।
साहित्य समाजको ऐना हो । भाषा राष्ट्रको आत्मा हो भने साहित्य त्यस आत्माको प्राण हो। देशमा भएका राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक अवस्थाहरु साहित्यमा प्रतिबिम्बित हुन्छन । जब देशका साहित्यकारहरुले आफ्ना अनुभूति, इतिहास र संस्कृतिलाई शब्दमा बाँध्छन तब त्यो साहित्य राष्ट्रिय जीवनको दस्तावेज बन्दछ । उदाहरणका लागि, भानुभक्त आचार्यले तुलसीदासको रामायणलाई नेपाली भाषामा अनुवाद गर्दा नेपाली भाषाको मान र पहिचान विश्वस्तरमा स्थापित गरे । त्यसैगरी, लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी आदिका कृतिहरुले नेपालीपनलाई सजीव बनाएका छन । देशको राष्ट्रिय पहिचान भाषा र संस्कृतिमा टेकेको हुन्छ । साहित्यले भाषाको संरक्षण र विकास गर्दछ । जब साहित्य भाषा समृद्ध हुन्छ, तब त्यसैसँग राष्ट्रिय चेत पनि सुदृढ बन्दछ । जस्तै, नेपाली भाषा साहित्यले नेपालका पहाडी, तराई र हिमाली समुदायहरुलाई एउटै भावनामा बाँध्ने माध्यम बनेको छ । यही भाषिक एकताले राष्ट्रिय पहिचानको जग मजबूत बनाएको छ । देशको संस्कृति, लोकजीवन, परम्परा र विश्वास साहित्यमा प्रतिबिम्बित हुन्छ । लोकगीत, लोककथा, गीति–नाटक र उपन्यासहरु राष्ट्रको सांस्कृतिक सम्पदा हुन । उदाहरणका लागि, माधवप्रसाद घिमिरेको गौरी, देवकोटाको मुनामदन, र परशु प्रधानको ज्योति आदि कृतिहरुमा नेपाली समाजको संस्कार, भाषा र जीवनशैली स्पष्ट देखिन्छ। यी कृतिहरुले नेपाली संस्कृतिको अद्वितीय रुपलाई स्थायी बनाएका छन ।
साहित्यले राष्ट्रप्रेम, स्वतन्त्रता र सामाजिक चेतनाको भावना जगाउँछ । देशमा अन्याय वा दमन हुँदा साहित्यकारहरुले कलमलाई हतियार बनाएर विरोध गर्दछन । यसरी साहित्यले राष्ट्रिय जागरणमा महत्वपूर्ण योगदान पु¥याउँछ । कविहरुले कवितामार्फत देशभक्ति र स्वतन्त्रताको आवाज उठाएका छन । उनका रचनाले नेपाली जनमानसमा राष्ट्रियता र आत्मगौरवको भावना जगाएका छन । राष्ट्रको अस्तित्व केवल भूगोलमा मात्र सीमित हुँदैन । राष्ट्रको आत्मा त्यसको संस्कृति, भाषा, धर्म, इतिहास र मानवीय चेतनामा बस्छ । ती सबै तत्वलाई शब्दको स्वरुपमा बाँध्ने माध्यम हो साहित्य। साहित्य राष्ट्रको संस्कार, सभ्यता र इतिहासको साक्षी मात्र होइन, राष्ट्रिय चेतना जगाउने माध्यम पनि हो । साहित्यले समाजमा घटेका घटनाहरुलाई केवल वर्णन मात्र गर्दैन, त्यसले ती घटनाभित्र लुकेका भावना र चेतनालाई पनि उजागर गर्दछ । साहित्य राष्ट्रको जीवनदर्शन र आत्मचित्र हो । राष्ट्रको पहिचान भाषासँग गाँसिएको हुन्छ । त्यसले इतिहास, संस्कृति र सामाजिक संरचनाको पहिचान बोकेको हुन्छ । साहित्य भनेको भाषाको सर्जनात्मक रुप हो। जसले त्यो भाषा जीवित राख्छ, विकसित गर्छ र जनभावनासँग जोडछ ।
राष्ट्रको संस्कृति, परम्परा, विश्वास र जीवनशैली साहित्यमा प्रतिबिम्बित हुन्छ । लोकगीत, लोककथा, धार्मिक आख्यान, मिथक र कविताहरुले राष्ट्रको सांस्कृतिक डीएनए बोकेका हुन्छन । नेपालमा लोककथाहरुमा पाइने देवता, पितृ, पर्व र संस्कारहरुले नेपाली समाजको गहिरो आध्यात्मिक चेतनालाई उजागर गर्दछ । साहित्य केवल सौन्दर्य र मनोरञ्जनको माध्यम होइन । यो सामाजिक रुपान्तरण र राष्ट्रिय चेतनाको हतियार हो । नेपालमा राणा शासनको दमन, जनताको मौनता र स्वतन्त्रताको चाहनालाई सबैभन्दा पहिले कविहरु र साहित्यकारहरुले कलममार्फत सुरुवात गरेका थिए । सिद्धिचरण श्रेष्ठ, गणेशमान सिंह, बीपी कोइराला, भीमनिधि तिवारी आदिका रचनाले जनतालाई स्वतन्त्रताको भावना जगाए । त्यस्तै, देवकोटाको पागल कवितामा देखिने स्वतन्त्र चेत र मानवीय स्वाभिमानले केवल साहित्यिक आन्दोलन होइन, एक प्रकारको मानसिक क्रान्ति जन्माएको थियो। त्यसरी साहित्यले दमनको प्रतिरोध र राष्ट्रिय आत्मगौरवको पुनर्जागरण ग¥यो । त्यसैले, राष्ट्रनिर्माणको ऐतिहासिक चरणमा साहित्य सधैँ प्रेरणाको श्रोत रह्यो ।
साहित्यिक पर्यटकहरुले स्रष्टाको खोज,अनुसन्धान गर्न पनि रुचि राख्दछन । पर्यटनमा नयाँ ठाउँ, संस्कृति, भाषा, खाना, जीवनशैली र अनुभव गर्न सबैको रुचि हुन्छ । साहित्यकारका लागि पर्यटन सिर्जनाका लागि साधना हुन्छ । पर्यटनको यात्रामा साहित्यकारहरुको शब्द, अनुभूति र यथार्थ मिसिन्छ । साहित्यिक पर्यटक र अन्य पर्यटकबीच धेरै कुराले भिन्नता हुन्छ । किनकि साहित्यिक पर्यटकको मूल उद्देश्य भौतिक आनन्द भन्दा पनि बौद्धिक र भावनात्मक अनुभव प्राप्त गर्ने हुन्छ । साहित्यकारहरुले पर्यटनमा अवलोकन मात्र नगरी शब्द मार्फत पुगेको ठाउँको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक सम्पदाको विश्लेषण गर्दछन । साहित्यिक पर्यटनको अर्को विशेषता भनेको साहित्य, इतिहास र संस्कृतिलाई आपसमा जोडछ । साहित्यिक पर्यटनले पुगेको ठाउको साहित्यिक महत्व र त्यहाँका लेखकको योगदान सम्झाउँछ । पाठकलाई देशप्रेम, भाषा संस्कृति र साहित्यप्रति आकर्षित गराउँछन । सारमा भन्नु पर्दा, सामान्य पर्यटकले आँखाले सौन्दर्य देख्छन, साहित्यिक पर्यटकले भने मनले अनुभूति गर्छन ।
साहित्यिक पर्यटक कुनै ठाउँमा पुग्दा त्यहाँको साहित्यिक महत्व खोज्दछन । जुन कारणले साहित्यिक पर्यटनले साहित्यलाई जीवन्त बनाउँछ । साहित्यकारहरु कुनै लेखकको जन्मथलो, साहित्यिक कृतिमा उल्लेख भएको ठाउँ, वा साहित्यिक क्षेत्रमा प्रेरणास्थल अध्यन अवलोकन गर्न पुग्दछन । साहित्यिक पर्यटनको विशेषता भनेको पाठक र लेखक, साहित्य र भूगोल बीचको सम्बन्धलाई सजीव बनाउनु हो । कुनै उपन्यासमा वर्णन गरिएको ठाउँमा साहित्यिक पुग्दा पाठकको मानसपटलमा त्यो कथा पुनःजीवित हुन्छ । यस्तो अनुभूति सामान्य दृश्यावलोकन भन्दा बढी गहिरो र भावनात्मक हुन्छ । साहित्यिक पर्यटक भने अर्कै मनोवृत्तिका हुन्छन । साहित्यिक पर्यटक कुनै साहित्यिक कृतिमा उल्लेख भएको ठाउँ हेर्न, कुनै प्रसिद्ध लेखकको जन्मथलो अथवा लेखकको जीवनसँग सम्बन्धित स्थानमा पुग्न चाहन्छन । साहित्यकारहरुको यात्रा केवल दृश्यको लागि नभई भावना, स्मृति र अध्ययनका लागि हुन्छ । साहित्यिक पर्यटकहरु पाठक मात्रै होइनन, तिनीहरु अनुभवकर्ता पनि हुन । उनीहरुले पढेको साहित्यिक कृतिको संसार सजीव रुपमा अनुभूति गर्न चाहन्छन । कुनै स्रष्टाको कृतिमा उल्लेख गरिएको गाउँ, नदी, वा वनको छेउ पुग्दा साहित्यकारहरुलाई त्यो कथा पुनः स्मरण हुन्छ, र त्यो स्थान साहित्यकारहरुको लागि विशेष अर्थ बोकेको हुन्छ ।
पर्यटन र साहित्यबीच गहिरो सम्बन्ध हुन्छ । साहित्यकारहरु समाजका सांस्कृतिक दूत पनि हुन । साहित्यिक आँखाले हेर्दा एक सामान्य गाउँ पनि गहिरो कथा बोकेको प्रतीत हुन्छ । साहित्यकारहरुले लेखेका यात्रा संस्मरण, कविता, कथा वा निबन्धहरु पर्यटकीय स्थलहरुको परिचय गराउने शक्तिशाली माध्यम बन्दछन । ऐतिहासिक एवं साहित्यिक हिसाबले विशेष महत्व बोकेको भूमीलाई साहित्यका माध्यमले राष्ट्रको पहिचान बनेको हुन्छ । त्यसैले साहित्यकारहरु राष्ट्र र जनताका लागि प्रेरणाका स्रोत हुन । जसले आफ्नो जीवन राष्ट्र सेवामा समर्पण गर्दछन र भावी पुस्तालाई पनि मार्गदर्शन गर्दछन । राष्ट्रको आत्मा शब्दमा बोल्ने माध्यम नै साहित्य हो ।
साहित्यले देशको इतिहासलाई भावनाको रुप दिन्छ, संस्कृतिलाई लय दिन्छ र नागरिकहरुलाई एकताको सूत्रमा बाँध्छ । भाषा हरायो भने संस्कृति हराउँछ र संस्कृति हरायो भने राष्ट्र हराउँछ । त्यसैले साहित्य राष्ट्रको दीर्घ अस्तित्व र गौरवको रक्षक हो । साहित्य राष्ट्र निर्माणको आधार हो । साहित्यले देशको भाषा, संस्कृति, विचार र इतिहासलाई जोगाएर राष्ट्रिय पहिचानलाई स्थायी बनाउँछ । साहित्यकार राष्ट्रका आत्मा हुन र तिनका शब्दहरुले राष्ट्रको पहिचानलाई पुस्तौँसम्म जीवित राख्छन ।










