पुग्नै पर्ने गाउँ हो सिक्लेस

के.बि. मसाल

गण्डकी प्रदेशको कास्की सांस्कृतिक भौगोलिक पर्यटकीय एवं पर्वावरणीय दृष्टिले पनि रमणिय जिल्ला हो । फुर्सदमा घुमघाम गर्नको लागि पोखरा सबैको रोजाइमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु वितेको पत्तै हुदैन । एकपछि अर्को आकर्षक स्थलहरु घुम्दा घुम्दै दिन वित्छ । अन्नपूर्ण तथा माछापुच्छ्रे जस्ता हिम श्रृंखलाहरु फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल-पातले छागो, महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक सम्पदा पोखरामा रहेका छन । पोखरा उपत्यका ताल, गुफा र मनोरम हिमश्रृंखलाले पर्यटकहरु आकर्षित हुन्छन । नेपालीमा बढदै गएको घुमफिर संस्कृतिको विकासका कारण अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढन थालेको छ ।

नेपालमा आउने वाहृय पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान हो अन्नपूर्ण पदमार्ग । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, र्फान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक पदयात्रा गर्दछन । पछिल्लो समय आन्तरिक पर्यटकहरुको पनि पदमार्गमा रुचि बढेको छ । यो पदमार्गको हिमाली काखमा रहेका लमजुङ र कास्की जिल्लाका अधिकांश स्थानमा गुरुङ जातीहरुको बसोवास छ । चाहे लमजुङ जिल्लाको खुदी घनपोखरा, घलेगाउँ, भुजुङ पदमार्ग भएर आउने पर्यटक हुन वा कास्की जिल्लाका धान्द्रुङ पुग्ने पर्यटकहरु हुन, सिक्लेस गाउँ पुगेकै हुन्छन । सिक्लेस गाउँमा कतिपय बिदेशी पर्यटकहरु गुरुङ भाषा सिक्नकको लागि पनि महिनौ दिन बस्ने गर्दछन ।

सन् १९५० मा र्फेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । उनि पहिलो अन्नपूर्ण हिमाल आरोहण गर्ने पर्यटक थिए । त्यसपछि नेपालमा पर्यटकहरु आउने र हिमाल आरोहण गर्नेहरुको संख्या प्रत्येक वर्ष बृद्धि हुँदै गएको छ । अहिले नेपालमा आउने धेरै पर्यटकको रोजाई पदमार्गमा यात्रा गर्नेमा पर्दछ । पदमार्गले पर्यटकहरुलाई हिमाल हेर्ने मात्र नभएर सांस्कृतिक, जैविक, खानेकुरा र प्राकृतिक विविधता हेर्ने र जान्ने अवसर पनि हुन्छ । छोटो पदमार्गको दूरीमा धेरै अनुभव पाइने पदमार्ग नेपालमा मात्रै छ । यहाँका प्राय पहाडी पदमार्गमा संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज पर्छन । जहाँ विश्वकै दुर्लभ जनावर र वनस्पति पाइन्छन् ।

सिक्लेस गाउँ धप्राङथर, लामाथर, हर्षथर, सभाथर, कोइथर, गरीथरे गरी छ वटा टोलमा विभाजित छ । आजभोली पोखरा पुगेपछि धेरै स्वदेशी तथा विदेशी पर्यटक कला, संस्कृति र प्राकृतिक छटामा रमाउन सिक्लेस पुग्दछन । समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ । आँखैमा टाँसिन आइपुग्ने हिमाल हेरेर पर्यटकहरुलाई धितनै मर्दैन । जति हेरे पनि हेरु-हेरु वनाउछ । झनै जुनेली रातमा हिउँ परेको समयमा हिमाल टलक्क टल्किदा पर्यटकहरु त्यो दृश्यले मोहित हुने गर्दछन् । यही भएर त होला स्वदेशमा मात्र हैन विदेशमा पनि उतिकै लोकप्रिय वनेको छ पर्यटकीय गाउँ सिक्लेस ।

गुजुमुज्ज परेका घर, ढुंगाका स्लेट छापिएका आँगन र एउटाको तगारोबाट छिरेपछि गाउँका सबै घरमा पुग्न सकिने चिरिच्याँट्ट परेका बाटाले गुरुङहरुको पहिचान सिक्लेस गाउँले दिएको छ । दिनभर खेतबारीमा काम गर्‍यो, भेडाबाख्रा चरायो र बेलुका रोधीघरमा रमाइलो गर्ने सोझो र फरासिलो जातिको पहिचान बनाएको गुरुङहरुको जीवनशैली सिक्लेस गाउँमा अहिले पर्यटन ब्यवसाय बनेको छ । सिक्लेस गाउँबाट मादी नदीको नागबेली देखिन्छ। सिक्लेसबाट करिब ७ घण्टामा नेपालकै सबैभन्दा कम उचाईको कफुचे हिमताल पुग्न सकिन्छ । वरिपरिका वनजंगल, प्रत्यक्ष देख्न सकिने वन्यजन्तु र चराचुरुंगीले सिक्लेस पुग्ने पर्यटक रमाउछन् ।

सिक्लेस गाउँमा करिब पाँच सय घर छन् । सिक्लेसका गुरुङ जाति सोझा, मिजासिला, इमानदार हुन्छन । सिक्लेस गाउँलाई तमु भाषामा च्युली वा चिली पनि भनिन्छ । गुरुङहरुको आदिम थलो चिली, गुरुङ भाषामा चिलीको अर्थ निरोगी हुन्छ । सिक्लेस गाउँमा कोही पनि बिरामी फेला पर्दैनन् भन्दा पनि हुन्छ । सबै गाउँले सधैं स्वस्थ रहने भएकाले बस्तीको नामै चिली भएको हो ।रुमनाङ जान चिलीको बाटो हुँदै पुगेका विदेशीले पर्यटकले बस्तीको महत्वलाई बुझेर चिलीको अंग्रेजी नाम सिक लेस राखिदिए । विदेशी पर्यटक र बेलायती सैनिकको अत्यधिक आवतजावत हुने यो बस्ती बिस्तारै सिक्लेस नाममा रहन गएको हो ।

सिक्लेस गाउँमा पर्यटकहरुको लागि डेड दर्जन होटल र होमस्टेहरु सञ्चालनमा आएको छ। सिक्लेसका बासिन्दाहरुले आफ्नो घरआँगन, बाटाघाटा तथा चोकका प्लास्टिक, कागजलगायत फोहरवस्तु व्यवस्थापन गर्दछन । जुन कारणले पर्यटकीय गाउँ सिक्लेस सरसफाईकै कारण नमुना गाउँ बनेको छ । पहिलोपटक सिक्लेस पुग्ने पर्यटकहरु आफ्नो बसाइसमेत लम्व्याउने गर्दछन । सरसफाईसँगै आत्मीयता र सत्कारले पनि धेरैलाई गाउँले आकर्षित गर्ने गरेको छ । समग्रमा भन्नु पर्दा गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त संग्रहालय सिक्लेस हो भन्दा पनि हुन्छ । सिक्लेस गाउँ करिब एक हजार वर्ष पुरानो मानिन्छ । गुरुङ जातिको आदिम थलो क्होलासोंथरबाट सबैभन्दा नजिक सिक्लेस पर्दछ । सिक्लेसबाट क्होलासोंथर एक दिनमा पुग्न सकिन्छ । संस्कृतिको अध्ययनका लागि सिक्लेस इको म्युजियम महत्वपूर्ण अंग बनेको छ । सिक्लेसमा अनुसन्धान र खोजका लागि पुग्नेहरु महिनौंदिन बस्ने गर्दछन ।

सिक्लेसका अधिकांश घरमा दुइभन्दा बढी बेलायती र भारतीय सेनामा छन । सरकारी जागिरभन्दा पुर्ख्यौली पेसा भारतीय र बेलायती सेनाको जागिरमा रमाउने सिक्लेसमा धेरै छन । केही युवाहरु पछिल्लो समय वैदेशिक रोजगारीमा पनि आकर्षित हुन थालेका छन । पहिला सिक्लेसवासीहरु पैदलै डाँफे हिमाल नाघेर हिमालपारिको जिल्ला मनाङको तिमाङ, दानाक्यु पुग्ने गर्थे । यतिखेर लमजुङबाट सडकमार्ग सहज भएपछि दानाक्यु मार्ग अहिले चलनचल्तिमा छैन भन्दा पनि हुन्छ । सिक्लेसबाट डेढ घण्टा उकालो हिंडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ । वरपर लालीगुराँसका जंगल र हिमताल देख्दा पर्यटकहरु रमाउँछन ।
र्
पर्यटकहरुको लागि सिक्लेस गाउँको बीचमा भ्युटावर र बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा स्वागत गेट र पार्क पनि बनेका छन् । पर्यटकहरुको लागि सिक्लेस-घलेखर्क इको ट्रेक सञ्चालनमा छ । सिक्लेस-तिमाङ -मनाङ) र सिक्लेस-भुजुङ लमजुङ) पदमार्ग निर्माण भएको छ । सिक्लेस गाउँ कला, संस्कृति र अनुपम प्रकृतिका कारण आन्तरिक एवं वाहृय पर्यटकको गन्तब्य बन्दै गएको छ । पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने सिक्लेस पुग्नासाथ ढुङ्गाले छाएका गुजुमुच्च देखिने रमणीय सफा र सुन्दर नमुना गाउँ देख्न पाइन्छ । जुन गाउँलाई हेरेर पर्यटकहरुले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् ।

आजभोली सिक्लेस इको-म्युजियम गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचीन गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसित सग्राहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोही पर्यटकहरुका लागि निकै उपयोगी बन्दै गएको छ । सिक्लेसको सग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । त्यो बाहेक पर्यटकहरुले आफ्नो रुचि अनुसार सिक्लेस गाउँ वरपर क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुटको, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सा गुम्बाजस्ता जडीबुटीका बारेमा पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गर्दछन ।

सिक्लेसमा खान-बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास अर्थात होमस्टेमा एक दिन बास बस्न लगभग १ हजार रुपैयाँ भए पुग्छ भने २५० रुपैयाँसम्म खर्च गर्दा रोजाई अनुरुपको खानाको स्वाद लिन सकिन्छ । सिक्लेसमा गाउँमै पाइने लोकल चामलको भात, ढिँडो, झिलिंगा, निउरो, सिस्नो, साग र रोटी जस्ता परिकार बनाएर पर्यटकलाई खुवाउने गरिन्छ । पोखराबाट ४३ किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँडन नसक्नेहरु गाडीबाट पुग्ने गरेका छन्। पोखराबाट सिक्लेस जानको लागि गाडीबाट काहुखोला, ढाडबेसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै यात्रामा प्राकृतिक दृष्यको अवलोकन गर्दै पुग्न सकिन्छ । सिक्लेस नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको घलेखर्क सिक्लेस इको ट्रेकभित्र पर्दछ ।

सिक्लेस गाउँका मानिसहरु मेहनती छन । उनिहरुले गाउँमा आवस्यक पर्ने पूर्वाधार भरसक्य आफैले गर्ने गरेका छन । गाउँमा गर्नुपर्ने विकास निर्माणका काम सबैको सल्लाह अनुसार हुने गर्दछ । सिक्लेसका स्थानीयवासीले न लोडशेडिङको मार खेप्नुपरेको छ, न त महँगो विद्युत महशुल नै तिर्नुपर्छ । सिक्लेसवासीले १ वाटको बत्ती -चिम) बाल्दा मासिक १ रुपैयाँमात्र महशुल तिरे पुग्छ । जति वाटको बत्ती बाल्यो, त्यति नै रुपैयाँ महशुल तिर्नुपर्छ । २०५० सालदेखि सिक्लेसमा सस्तो शुल्कमा चौबीसै घण्टा बिजुली बलिरहेको छ । सिक्लेस गाउँको ठाडोखोलाबाट निकालिएको विद्युतले पार्चे र खिलाङलाई समेत लोडशेडिङमुक्त बनाएको छ ।

सिक्लेस पुग्ने पर्यटकहरु पछिल्ला समयमा कफुचे हिमताल पुग्ने इच्छा गर्दछन । कफुचे हिमताल सिक्लेसबाट एकदिनको पदयात्रामा पुग्न सकिन्छ । नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा कफुचे हिमताललाई लिने गरिएको छ । समुद्री सतहबाट दुइ हजार ४५० मिटर उचाइमा कफुचे हिमताल पर्दछ । अन्नपूर्ण दोस्रो र चौंथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको कफुचे ताल लगभग एक हजार दुइ सय वर्गमिटरमा फैलिएको छ । कफुचे क्षेत्रमा पहिले पहिल भेडी गोठ रहे पनि अहिले भने छैन । कफुचे नाम स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल भनिन्छ । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई कफुचे भन्ने गरिन्छ । कफुचे ताल बर्सेनि बढदै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको हो । सिक्लेस-कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट पदयात्रामा हिँडन सक्ने पर्यटकहरु साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हुँगुदेखि एक घण्टामा कफुचे पुग्न सकिन्छ ।

सिक्लेस पुग्ने पर्यटकहरु ताङतिङ गाउँमा पनि पुग्दछन । सिक्लेस र ताङतिङ गाउँ वारीपारी पर्दछ । सुन्दा चाइनिज भाषा जस्तो लाग्ने ताङतिङ गाउँ पोखरादेखि २७ कि.मी.उत्तर पूर्व दिशामा पर्दछ । ताङतिङ गाउँ समुद्र सतह देखि १६८५ मिटरमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ । ताङतिङ पुग्नलाई पोखराबाट काहुँखोला, कसेरी, विजयपुर खोला, छाचोक हुँदै चाँसुमा मादी खोला तरे पछि सेती खोला पुगे पछि उकालो चढदै उपल्लो बेशी हुँदै ताङतिङ गाउँ पुगिन्छ । पोखराबाट ताङतिङ जानलाई बसमा २ घण्टा र जिपमा १ः३० घण्टा लाग्छ । ताङतिङ जानलाई काहुँखोलामा बिहान ८ बजे र बेलुका ४ बजे बस पाइन्छ । जिपमा जान चाहेमा पनि पाइन्छ । ट्रेकिङ गर्न मन लागेमा चाँसुमा झरेर करिब ३ घण्टामा विस्तारै हिँडदा गाउँ पुगिन्छ ।

ताङतिङ गाउँमा २०० घर छन् । गुरुङ संस्कृतिको जिवन्त शैली अध्ययन, अनुसन्धान, अवलोकन गर्नलाई ताङतिङ ज्यादै राम्रो छ । गाउँको बिच बिचमा सफा गोरेटो बाटो छ जहाँबाट टोल टोलमा पुगि गाउँमा घुम्न सकिन्छ । ताङतिङ गाउँ हिउँ पहिरो हेर्नलाई अति उपयोगी ठाउँ हो । गाउँ पारी नजिकै रहेको अन्नपूर्ण हिमाल र लमजुङ हिमालहरु आँखैमा, मनैमा सदा रहने गरी मज्जाले हेर्न पाइन्छ । ताङतिङ गाउँ मुनि अन्नपूर्ण, लमजुङ हिमालबाट बगेको हिमनदी मादीको कलकल, छलछल गाउँ नजिकै रहेको डाँडा काँडाहरु, बनमा मृगहरुको आवाज, कालिज अनि चराचुरुङ्गीको चिरविर, बेलुका अध्यारो बढदै जाँदा गाउँमा बज्ने मादलको घिन्ताङ घिन्ताङले गाउँ पुग्ने पर्यटकहरुलाई आनन्द दिलाउछ ।

ताङतिङ गाउँमा घुम्नलाई गाउँको पुच्छारमा नौचु पैंगी लामा महायान बौद्ध गुम्बा छ । गाउँको माथी क्वोइबा छ । गाउँको माथी हाइकिङ गर्नलाई करिब ४० मिनेट उकालो चढेपछि नौचु डाँडा भ्यु पोइन्ट पुगिन्छ । जहाँबाट माछापुच्छ्र्रे, अन्नपूर्ण, लमजुङ हिमाल र पोखराको आसपास मज्जाले हेर्न पाइन्छ । यस्तै प्रकारले गाउँ माथि फुलोम्रो, काउचो, बाजे बैकु, काउ न्य क्षेत्रबाट पनि दृष्याअवलोकन गर्न सकिन्छ । नजिकैको घट्टेखोलामा गई छहरा तथा खोलामा रमाइलो गर्न सकिन्छ । गाउँमा घुम्दा आमा दिदीबहिनीहरु राडीपाखी, बुनिरहेको चर्खामा उन कातिरहेको, बुबा दाजुभाइ भोटो र कछाडमा डोको नाम्लो बुनिरहेको भेटिन्छन । गाउँमा पुग्ने पर्यटकहरुको इच्छा अनुसार घाँटु, सोराठी पनि देखाइन्छ । गाउँमा होमस्टे सन्चालनमा छन । पर्यटकहरुलाई गाउँको चामलको भात, ढिडो तरकारी, कुखुराको सुप, इच्छा अनुसार अन्य आर्गनिक खानाहरु खुवाइन्छ । चिटिक्क परेको ढुंगा र टिनले छाएको गुरुङ घर भित्र भेडाको कम्बलमा अगेनोको छेउमा बसेर गुरुङ संस्कृतिमा आधारित चरेसको थालमा अर्गानिक खाना नारीपा
-कोदोको रक्सी) इच्छा अनुसार खान पाइन्छ ।

ताङतिङबाट पनि गुरुङ जातीहरुको पूर्ख्यौली थलो तथा पुरानो वस्ती क्होलोसोथर, दूधपोखरी तथा लमजुङको भुजुङ, घनपोखरा, घले गाउँ पनि पुग्न सकिन्छ । पवित्र ऐतिहासिक दूधपोखरी, मनाङ यात्रा पनि ताङतिङबाट गर्न सकिन्छ । त्यसै गरी पोखरा, ताङतिङ, सिक्लेस, ताराहिल टप, घले खर्क, भुजुङखोला पदयात्राको लागि ताङतिङ हुँदै गर्न सकिन्छ। अहिले ताङतिङमा आन्तरिक तथा बाहृय पर्यटकहरु पुग्ने क्रम बढदो छ । गुरुङ परम्परा र संस्कृतिको धनी गाउँ, नजिकै झयाल, ढोका, आँगन जताततैबाट हिउँ पहिरो, हिमाल हेर्न ताङतिङ गाउँ अति रमणिय छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker