स्थानीय निर्वाचन : बन्दिपुरको अध्यक्षमा वर्तमान अध्यक्ष सहित माओवादीका नौ जनाको दाबी
भञ्ज्याङ न्यूज

नेकपा माओवादी केन्द्रबाट तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नौ जनाले आकांक्षा देखाएका छन् । माओवादीको सबैभन्दा बलियो क्षेत्र रहेको बन्दिपुरमा अध्यक्ष बन्नका लागि नौ जनाले आकांक्षा व्यक्त गरेका हुन् । गाउँ कमिटीको बुधबार आयोजित बैठकमा वर्तमान अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, बन्दिपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेल, हेमराज लामिछाने, गीता शाही, विद्या लामिछाने, शिव पाण्डे, सिद्धान्त थापा र जीवन कायस्थले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन । वैशाख ३ गतेसम्म छलफल गरी अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिने गाउँ कमिटीले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा जाँदा पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको थियो । यसकारण पनि बन्दिपुरमा अध्यक्षका लागि आकांक्षी बढि देखिएका हुन् । सत्तारुढ दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएसँगै बन्दिपुर माओवादीले पाउने निश्चित छ । सोही कारण निर्वाचनमा जित निश्चित भएकाले अध्यक्ष बन्न माओवादीभित्र आन्तरिक प्रतिस्पर्धा बढेको छ ।
नेकपा माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तिमा एक पालिकामा महिला उम्मेदवार अनिवार्य गरेकाले यसपटक बन्दिपुरको अध्यक्षमा वर्तमान उपाध्यक्ष करुणा गुरुङको सम्भावना बढी रहेको चर्चा पनि चल्ने गरेको छ । उपाध्यक्ष भएर काम गरिसकेको र अनुभव हासिल गरेकाले गुरुङले अध्यक्ष चलाउन सक्ने माओवादीकै नेता तथा कार्यकर्ताले बताउन थालेका छन् ।
यस्तै, अहिलेका अध्यक्ष पूर्णसिं थापाले नै फेरी टिकट पाउने चर्चा पनि चलेको छ । बन्दिपुरका विकासमा आफुले जग बसालेको र पर्यटन पूर्वाधार, व्यवसायिक कृषि लगायतका क्षेत्रका अधुरा योजना पनि निर्माण सम्पन्न गर्नका लागि आफु पुनः नेतृत्वमा आउनुपर्ने उनले बताउँदै आएका छन् ।
यता, वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले पाँच वर्षवडाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा आफ्नो दावी गाउँपालिकामा अध्यक्ष हुने बताएका छन् ।










